कसले देखायो गजेन्द्रलाई मन्त्री बन्ने सपना !?

कसले देखायो गजेन्द्रलाई मन्त्री बन्ने सपना !?



शेरबहादुर देउवाद्वारा पुनर्गठन गरिने मन्त्रिमण्डलमा पर्ने सम्भावना क्षीण हुँदै गएपछि काङ्ग्रेस नेता गजेन्द्र हमाल ‘मर्नु न बाँच्नु’को स्थितिमा पुगेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान पुऱ्याएका हमाल नेपालगञ्ज र आसपासका क्षेत्रमा काङ्ग्रेस नेताका रूपमा चिनिन्छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका सहोदर जेठान हमाल लामो समयदेखि काङ्ग्रेस नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । काङ्ग्रेस आफ्नो वैचारिक मार्गबाट विचलित भएकोले हमालको असन्तुष्टि बढेको थियो ।

यसैबीच शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएपछि भने गजेन्द्र हमाल निकै उत्साही बनेका थिए । अब कुनै पनि दिन मन्त्री नियुक्त हुन सक्ने भन्ने विश्वास भएपछि हमालले नयाँ कोट र दौरा-सुरुवालको व्यवस्था मात्र गरेनन्, कुन मन्त्रालय लिने र कसरी चलाउने भन्ने विषयमा विज्ञ र शुभचिन्तकहरूसँग अनौपचारिक छफलसमेत शुरु गरिसकेका थिए । काङ्ग्रेसमा अत्यन्त भद्र र इमानदार नेताको छवि बनाएका हमालको नेपालगञ्जस्थित घरबारी टोलका छिमेकीहरूले हमालसहित परिवारका सदस्यहरूलाई समेत बधाई र शुभकामना दिइसकेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासन पाएर हमाल त्यसरी ‘ढुक्क’ भएका हुन् या त्यसको अन्य कारण थियो भन्ने स्पष्ट हुन सकेको छैन, तर उनी मन्त्री बन्ने कुरामा निश्चिन्त थिए । कसलाई सल्लाहकार र स्वकीय सचिव तथा अन्य प्रकारका सहयोगी बनाउने भनेर समेत हमालले आफ्ना शुभेच्छु, हितैषी, नातेदार, पारिवारिक सदस्य र छिमेकीहरूसँग समेत परामर्श गरिरहेका थिए ।