एमालेका ‘एकता पक्षधर’हरू निराश !

एमालेका ‘एकता पक्षधर’हरू निराश !



पार्टी एकीकरणका निम्ति भन्दै एमालेमै रहने निर्णयमा पुगेका नेताहरूले विधान अधिवेशनमा आफूहरू उपेक्षित र अपमानित भएको महसूस गरेका छन् । पूरा ओलीमय हुन पुगेको विधान अधिवेशनमा सक्रिय सहभागिता जनाएका सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र योगेश भट्टराई लगायतका नेताहरू उपेक्षित भएको महसूस गर्दै निरास हुन पुगेका छन् ।

विधान अधिवेशनमा दश सदस्यीय कार्यदलद्वारा प्रस्तुत भइ पार्टीद्वारा अनुमोदित दशबुँदे सुझावअनुरुपको कार्यव्यवहार नभएकोले उल्लिखित नेताहरूले उपेक्षित महसूस गर्नु परेको बताइएको छ । त्यस्तै, २०७५ जेठ ३ भन्दा अगाडिकै अवस्थामा पार्टीलाई पु¥याउने भनिएता पनि व्यवहारमा त्यस्तो नदेखिएको ‘एकता पक्षधर’ नेताहरूको ठहर छ ।

पार्टीको आगामी महाधिवेशन पनि यसरी नै ओलीमय वातावरणमा सम्पन्न गरिने हो भने एकताको पक्षमा आफूहरूले लिएको अडानको औचित्य नरहने ती नेताहरूको ठहर छ, त्यसैले पार्टीमा सबैको सम्मान र एकताको वातावरण बनाउन अन्तिम प्रयास गर्ने निष्कर्शमा ‘एकता पक्षधर’ नेताहरू पुगेका छन् । पार्टीको मूल प्रवाहमा रहेर काम गर्दै आएका नेताहरूले आफूलाई पर्यवेक्षक भूमिकामा सीमित गरिएको ठानेका छन् । त्यसैले पार्टी नेतृत्वले तत्काल विश्वास र एकताको वातावरण नबनाए अर्को प्रकारको तनावबाट एमाले गुज्रनुपर्ने सम्भावना देखिएको छ ।