- रामहरि बाजे
गान्धारी पतिब्रता नारी भएर के भयो त ?
आँखामा कालोपट्टी बाँधेर संसार देख्नै सक्दिनन्
कपटी पासा बनाउनेहरूलाई कसैले चिन्नै सकेन
चिन्नेहरूले पनि चिनाउने साहस कवै गरेनन्
कालजयी भीष्मजीले नुनको सोझो मात्रै गरे
सिङ्गै हस्तिनापुरवासीहरू सकुनी जालमा फसे
कुलवधुको चीरहरण देख्ने राजसभामा सबै मौन बसे
अन्तमा नारीको लाज बचाउन कृष्णले आउनुपऱ्यो
एउटै दरबार, एउटै भान्सा र एकै गुरुका शिष्यहरू
राजकुलको औपचारिकता बिर्र्सेर कसरी दुश्मन बने ?
अन्तिम-अन्तिम लडाइँमा हारजित ज-जसको भए पनि
हस्तिनापुरको राजा बन्ने राजकुमारै रहेनछन् !
दासीपुत्रले सिंहाशन पाए, लडाइँको फल यही हो त ?
लडाकुहरूले संसारै, प्राणै र आ-आफ्ना वंशै गुमाए
त्यहाँ त श्रीकृष्ण पनि थिए र पो नारीको लाज बचाए !
आजको नेपालमा त सकुनीहरू धेरै हुर्केका छन्
दुर्योधनको उत्पादनमा मलजल गर्ने धेरै छन्
कलीयुगको महाभारतको रचना तीव्र गतिमा छ
कथित नेताले युवाशक्ति बराल्दै तालिम गर्दैछन्
कुरुक्षेत्रको मैदान तयार गर्नै पर्दैन जंगल छँदैछ !
आजका डिजिटल हतियार जहाँबाट चलाए पनि चल्छ
ताकेर हान्नै पर्दैन आफैं खोजेर ताकेरै मार्न सक्छ
सहयोगको नाउँमा के-के आउँछ कसैले हेर्नै पाउँदैन
सूर्यबहादुरको ८४ बाकसमा के-के थियो ? सो थाहा छैन
फुटले ल्याउने लुटपाट इतिहास दोहोरिने डर बढेकै छ !
- विदुर, नुवाकोट
प्रतिक्रिया