एमालेद्वारा वाग्मती प्रदेशसभाको बैठक सार्न माग

एमालेद्वारा वाग्मती प्रदेशसभाको बैठक सार्न माग



नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ ।

एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

सो पार्टी संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसअघिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं कात्तिक ६ गते हुन गइरहेको वडास्तरीय अधिवेशन तथा कात्तिक ९ गते हुन गइरहेको स्थानीय तहको अधिवेशनका लागि केही दिनअघि देखि नै पार्टीका आम कार्यकर्ता तथा जनप्रतिनिधिहरू होमिनु परेका कारण ४ गतेका लागि आह्वान बैठकमा प्रदेशसभा सदस्यहरू सहभागी हुन नसक्ने भएकाले बैठकको मिति सार्न अनुरोध गरिएको जानकारी दिए ।

‘सभामुखज्यूले यही कात्तिक ४ गते दिउँसोका लागि बोलाउनु भएको प्रदेशसभाको बैठकमा पार्टीको अधिवेशनमा सहभागी हुनुपर्ने भएकाले हाम्रो पार्टीका प्रदेशसभा सदस्यहरूको सहभागिता हुन नसक्ने भएकाले उक्त बैठकको समयलाई हेरफेर गरी आगामी कात्तिक ११ गतेका लागि सारिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ मुख्य सचेतक निरौलाद्वारा प्रदेशसभा सचिवालयलाई बुझाइएको पत्रमा उल्लेख छ ।

प्रदेशसभाको सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेकाले बैठक स्थगित हुने वा नहुने विषयमा तत्काल भन्न नसकिने सचिवालयको भनाइ सार्वजनिक भएको छ ।

यसैबीच वाग्मती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा-१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जनाएका छन् ।

बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनको भनाइ छ । वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

एमालेले बिहीबारको प्रदेशसभा बैठक सार्न माग गरेपछि मूख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया पुनः पछि धकेलिने सम्भावना बढेको छ ।