‘गणेशमान सिंहले त्याग मात्र गरे, अब म पार्टीको नेतृत्व गर्छु’ : प्रकाशमान सिंह

‘गणेशमान सिंहले त्याग मात्र गरे, अब म पार्टीको नेतृत्व गर्छु’ : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस धुनिबेसी (धादिङ) नगर समितिको कार्यलय उद्घाटन गरेका छन् ।

बिहीबार धुनिवेशीमा आयोजित कार्यक्रममा सिंहले १३औँ महाधिवेशन पछि पार्टीको नेतृत्वले विधि पद्धति र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताए । नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको उनको दाबी थियो ।

संस्थागत तथा विधिसम्मत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता औँल्याउँदै नेता सिंहले पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने भन्दै कार्यकर्तालाई सचेत गराए । पार्टीको आसन्न १४औँ महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने अडान उनले राखे ।

क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ भन्दै सिंहले भने, ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ ।’

पार्टी सभापतिको गृहजिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको उनको आरोप छ।

आफू गणेशमान सिंहको छोरा भएकैले मात्र राजनीतिमा आएको होइन भन्दै नेता सिंहले गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको र अब आफूचाहिँ पार्टीको नेतृत्व गर्न अग्रसर रहेको बताए ।