मङ्गलबार एमालेको पालिकास्तरमा अधिवेशन

मङ्गलबार एमालेको पालिकास्तरमा अधिवेशन



दिउँसो १ बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेकपा (एमाले)ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो ।

विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुने जनाइएको छ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट मंगलबार दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । यसका लागि प्राविधिकलगायत तयारी पूरा भएको उनको भनाइ छ ।

यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा एमाले अधिवेशन सम्पन्न भएको छ भने बाढी-पहिरोप्रभावित केही स्थानमा स्थगन भएको छ । पार्टीको नयाँ विधानबमोजिम गाउँ/नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य तुल्याइएको छ ।