शरीरभित्रको मानवता र प्राण

शरीरभित्रको मानवता र प्राण


  • रामहरि बाजे

प्राणीका जीवन-मरणका गति अनेक हुन्छन्
शरीरलाई प्राणले छाड्यो अब त्यो चिसो मृत हुन्छ
मानवताले छोड्यो भने अ-कुशल शक्ति दानव बन्छ
नैतिकताले नै छाड्यो भने त के-के हुन्छ जे पनि हुन्छ !
भुपी शेरचनको बेलामा घुम्ने मेचमा अन्धो हुन्थ्यो
तर.. यो बेलामा-
ब्रह्माण्डलाई देखेको धेरै पुस्तक लेखेको
टाइसुटमा सजेको तर हरिया नोटले आँखा छोपेको
अज्ञात स्थानको रिमोट एयरफोन कानमा घुसारेको
गर्नैपर्ने कार्य छाडेर रिमोटको आवाज मात्र मान्ने
हृदय र विवेकलाई पाता कसेरै राख्न सक्ने बस्छ
कानमा घुसारेको एयरफोनले सधैं कमान गर्छ
रिमोटको इशारा नमानेकै दिन उ कुर्सीबाट झर्छ !
उसले त हामीलाई नै देख्दैन नोटका गड्डीले छेक्छ
दुःखी र श्रमिकहरूका रोग र भोक कसरी हर्ला…?
विचरा ! त्यसको भित्री मानवता नैतिकता धोत्रो छ ।
धोत्रो ठुटोमा मौरी+मौरी बसेको भए त अमृत भर्थ्यो
धमिरा नै धमिरा पसेपछि रसहीन माटोले भरेकै होला !
या त हरिया झिँगाले त्यहाँ औंसाह नै पाऱ्यो होला
औंसाहहरू त हड्डीभित्रैको मासीमा पस्छन्
त्यो जीवको अवशेषसमेत सबै निर्मुल गर्छन्
मानवता र नैतिकताले नै छाडेपछि यस्तै हुन्छ !!
शक्तिको सद्उपयोग गर्नेहरू बाल्मिकी अंगुलीमाल बन्लान्
दुरुपयोगीहरू दुर्योधनकै मौत मर्लान् – के गर्ने त ?!
२०७८ की महाकालीले यथायोग्य तथा कर्म गरुन् !

– विदुर-४, नुवाकोट (कोजाग्रत बिहान)