बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासका लागि पेश गरेको प्रस्तावमाथि आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मतदान हुने तयारी छ ।
गत साता बिहीबार नै मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गर्नुभएको भए पनि एमालेको कात्तिक ६ गते वडा तहको अधिवेशन र ९ गते पालिका तहको अधिवेशन रहेको कारण बैठक सारिएको थियो ।
वर्तमान सत्ता गठबन्धनका नेताहरुले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा दिन सुझाव दिँदै आए पनि शाक्यले विश्वासको मत लिने निर्णय गर्नुभएको हो । तथापि, उहाँलाई विश्वासको मत प्राप्त हुने सम्भावना क्षीण छ । गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एस)का नेता राजेन्द्र पाण्डेलाई अघिसारिएको छ ।
बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारीसमेत खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाउनुभएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया