भारतसँगको विश्वास गुमाएका शेरबहादुर देउवाले पश्चिमाको समेत साथ प्राप्त गर्न नसकेपछि उहाँ कसरी विजयी बन्न सक्नुहोला भन्ने जिज्ञाशा पैदा भएको छ ।
सत्तारुढ काङ्ग्रेस पार्टीको चौधौँ महाधिवेशन निर्धारित समयमै हुने कुरामा आशङ्का उत्पन्न भएको छ । झण्डै तीन दर्जन जिल्लामा क्रियाशील सदस्यतालगायतका विषयमा उत्पन्न असहमतिका कारण उत्पन्न विवाद अझै निरुपण हुन बाँकी छ । अबको ठीक एक महिनामा शुरु हुनुपर्ने महाधिवेशन जिल्लामा उत्पन्न विवादका कारण महाधिवेशनको मिति पुनः सारिन सक्ने सम्भावना देखिएको छ ।
तत्काल महाधिवेशन हुँदा आफू विजयी बन्ने सम्भावनाप्रति सभापति शेरबहादुर देउवा स्वयम् विश्वस्त हुनुहुन्न । संसदीय र स्थानीय तहको निर्वाचन नजिकिएको यो स्थितिमा कदाचित टिकट वितरण गर्नबाट वञ्चित हुनुपर्ने स्थिति पैदा भएमा राजनीतिक भविष्यमै बिराम लाग्न सक्ने सम्भावनाप्रति सभापति देउवा सचेत हुनुहुन्छ । सभापतिमा पुनः विजयी भएर ‘टिकट वितरण’ गर्ने कि ‘टिकट वितरण’ गरेर ‘सभापति’ बन्ने विकल्पमध्ये कुन रोज्ने भन्नेमा देउवा अहिले पनि स्पष्ट हुनुहुन्न ।
जिल्लाहरूको अधिवेशन समाप्त भइसकेको भए कसको पक्षमा कति मत हुन्छ भन्ने बारेमा एउटा तस्बिर प्रकट हुन सक्थ्यो । जिल्ला र क्षेत्रहरूको अधिवेशन सम्पन्न हुन बाँकी भएकोले कसको पक्षमा कति मत हुन सक्ने भन्ने अनुमान र विश्लेषण गर्न सकिएको छैन । त्यसैले देउवा निर्वाचन सम्पन्न गरेर महाधिवेशन गराउने कि महाधिवेशन गरेर निर्वाचनमा जाने भन्ने विषयलाई लिएर दुविधामा पर्नुभएको बुझिन्छ । संसद् विघटन गरेर शीघ्र निर्वाचनमा जानेबारे उच्च तहमा अनौपरिचारिक छलफल चलिरहेकोले पनि मङ्सिरमा गर्ने भनिएको महाधिवेशन अन्यौलमा परेको हो ।
काङ्ग्रेस केही वर्षदेखि विभिन्न गुट–उपगुटहरूको संयुक्त मोर्चा जस्तै देखिँदै आएको छ । यतिबेला काङ्ग्रेसमा शेरबहादुर देउवा, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र रामचन्द्र पौडेलको आ-आफ्नै गुट छन् । गुटहरूमध्ये सबैभन्दा ठूलो र मजबुत शेरबहादुर देउवाकै मानिन्छ । देउवाको गुटमा गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, विजयकुमार गच्छदार, डा. नारायण खड्का र रमेश लेखकलगायतका नेताहरू समाविष्ट छन् । विमलेन्द्र निधि देउवा गुटबाट अलग्गिएर आफ्नो बेग्लै समूह निर्माण गर्न कस्सिएका छन् । विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाएर आफू सभापतिमा उम्मेदवारी दिने योजनामा निधि रहेको बताइन्छ । उता डा. शेखर कोइरालाचाहिँ गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने सोचमा भएको बुझिन्छ ।
पश्चिमानिकट नेताका रूपमा चिनिने शेरबहादुर देउवालाई पराजित गरेर डा. शेखर कोइरालालाई सभापति बनाउने योजना पश्चिमाहरूले अढाइ वर्षअघि नै बनाइसकेको हो । डा. शेखरलाई सभापति र गगन थापालाई महामन्त्री बनाउने याजनामा रहेका पश्चिमाहरू अहिले शेरबहादुर देउवालाई विस्थापित गर्न चाहन्छन् । पश्चिमी योजनाअनुरुप नै विमलेन्द्र निधिलाई देउवाबाट अलग गराइएको हो । निधिलाई देउवाबाट अलग गराइँदा देउवालाई पराजित गर्न र डा. शेखर कोइरालालाई विजयी तुल्याउन सकिने विश्वास पश्चिमा शक्तिमा देखिन्छ । तेह्रौँ महाधिवेशना करिब डेढ सय मतान्तरले विजयी बनेका देउवाको दुई सयभन्दा बढी मत निधिले काट्ने र त्यसो गर्दा डा. शेखरलाई सजिलै विजयी गराउन सकिने उनीहरूको विश्वास र विश्लेषण छ । दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा तथा सभापतिमा डा. शेखर कोइरालालाई विजयी गराउने खेलमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू लागिपरेका छन् । भारतसँगको विश्वास गुमाएका शेरबहादुर देउवाले पश्चिमाको समेत साथ प्राप्त गर्न नसकेपछि उहाँ कसरी विजयी बन्न सक्नुहोला भन्ने जिज्ञाशा पैदा भएको छ ।
देउवालाई पराजित गराउनका लागि विमलेन्द्रलाई उभ्याउने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले महाधिवेशनपछि विमलेन्द्रलाई कस्तो भूमिका देलान्, यो पनि जिज्ञाशाको अर्को विषय बनेको छ । देउवाको स्ट्रेन्थ (बल) भनेको सत्ता, नगद र उहाँको पक्षमा धेरै नेताहरूको साथ हो । गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, बालकृष्ण खाण र रमेश लेखकलगायतका नेताहरूको साथ अन्तिमसम्म रहेमा देउवालाई परास्त गर्न सजिलो छैन । डा. शशाङ्कको पक्षमा डा. मिनेन्द्र रिजाल र दीपक गिरी रहेका छन् भने रामचन्द्र पौडेलको पक्षमा पनि मोहन पाण्डे र कमला पन्त जस्ता नेताहरू उभिएका छन् । डा. शेखर कोइरालाको पक्षमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका साथै गगन थापा र डा. अमरेशकुमार सिंहलगायतका युवा नेताहरू देखिएका छन् । गगनले शेखरको छाता ओढे झैँ विश्वप्रकाशले विमलेन्द्रको छाता ओढे भने आश्चर्य हुने छैन । निर्धारित मितिमै महाधिवेशन भए पनि र, पछि सारिए पनि काङ्ग्रेसको आन्तरिक समीकरण र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चालबाजीमा सामान्यतया अन्तर नआउने स्थिति छ । तर संसदीय निर्वाचन गराएर मात्र महाधिवेशन गराएको अवस्थामा भने शेरबहादुर देउवा राजनीतिक रूपले बढी सूरक्षित रहने सम्भावना देखिएको छ ।
प्रतिक्रिया