सत्ता गठबन्धन र विपक्षी नेकपा एमालेको नेतृत्वले शीघ्र निर्वाचन (अर्ली इलेक्सन) मा जाने मानसिकता बनाएको जानकारी प्राप्त भएको छ । समय गुज्रँदै जाँदा सत्ता गठबन्धनभित्र मतभिन्नता भइ तनाव उत्पन्न हुन सक्ने र सम्भावित चुनावी तालमेलमा समेत असर पर्ने ठान्दै प्रचण्ड र माधव नेपाललगायतका नेताहरू चुनावी गठबन्धन बनाएर ‘अर्ली इलेक्सन’मा जाने मानसिकता बनाउन पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि शीघ्र निर्वाचन गराएर आफ्नो पार्टीको महाधिवेशन पछाडि धकेल्ने मानसिक योजनामा रहनुभएको बताइन्छ । उता प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धेरै पहिलेदेखि नै ‘अर्ली इलेक्सन’को पक्षमा उभिँदै आउनुभएको छ र, प्रधानमन्त्री देउवासँगको प्रत्यक्ष–अप्रत्यक्ष सम्वादका क्रममा पनि ‘अर्ली इलेक्सन’को मुद्दा उठाउँदै आउनुभएको छ । सभामुख बदल्न, माधव नेपाल समूहलाई मान्यता नदिन र संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’मा जान तयार भए आफू सरकारमा नगएर पनि देउवालाई पूर्ण रूपले साथ दिने वचन केपी ओलीले काङ्ग्रेस नेताहरूसँगको भेटका क्रममा बताउँदै आउनुभएको बुझिएको छ ।
आगामी वैशाखमा संसदीय निर्वाचन गराउने र त्यसनिम्ति पौष या माघमा संसद् विघटन गर्ने भन्ने मानसिकता बनेको बुझिन्छ । केपी ओली अन्य कुनै दलसँग चुनावी तालमेल गरेर अघि बढ्ने पक्षमा नभए पनि प्रचण्ड र माधव काङ्ग्रेससँग समेत चुनावी गठबन्धन बनाएर जान इच्छुक देखिएका छन् । सत्तापक्षबीच चुनावी तालमेल नहुने अवस्थामा भने माओवादी र समाजवादी दुवै दल ‘अर्ली इलेक्सन’मा जान तयार हुने मनस्थितिमा देखिएका छैनन् ।
आगामी मङ्सिरमा नेकपा एमालेको महाधिवेशन सम्पन्न भएपछि नेपाली राजनीतिले नयाँ दिशा लिने सङ्केतहरू देखिएका छन् ।
प्रतिक्रिया