‘अर्ली इलेक्सनको हल्ला चलेको छ तर हुँदैन’ : प्रचण्ड

‘अर्ली इलेक्सनको हल्ला चलेको छ तर हुँदैन’ : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब अध्यादेशबाट महत्वपूर्ण विधेयकहरु अगाडि बढाइने खुलासा गरेका छन् ।

जनकपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत संसद् अवरुद्ध गरेकाले नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारी गरिएको बताएका हुन् ।

नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको भन्दै उनले राष्ट्रिय सहमतिबाटै जान चाहनँदाचाहँदै सहमति नभए अध्यादेशबाटै भए पनि अघि बढ्ने चेतावनी दिए ।

प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको पनि बताए । अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको, सबै राम्रोसँग चलिरहेको दाबी गर्दै उनले न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौंमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको जानकारी दिए । अहिले गठबन्धनका नेताहरु काठमाडौंभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको उनको तर्क थियो । बैठक बस्नेबित्तिक्कै गठबन्धनको धारणा आउने उनले बताए ।

अर्ली इलेक्सनसम्बन्धस् सवालमा प्रचण्डले भने, ‘अर्ली इलेक्सनको हल्ला चलेको छ तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ ।’