प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामाको घोषणा

प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामाको घोषणा



प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिएका हुन् ।

प्रदेशसभाको हिउँदे तथा आठौँ अधिवेशनको आज बसेको बैठकमा प्रदेशसभामा नेकपा एमालेतर्फका सांसदको बहुमत नरहेका कारण राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।

मुख्यमन्त्री आचार्यले आजको बैठकमा विश्वासको मत लिन यसअघि नै प्रस्ताव पेश गरेका थिए । आफ्नो पक्षमा बहुमत नदेखिएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नभएको बताए ।

हालै लोकतन्त्र र संविधानका लागि सङ्घर्ष गरेर आएका दलहरुले यसको रक्षाका निम्ति पनि एकजुट हुनुको विकल्प नरहेको भन्दै आफ्नो नेतृत्वको सरकारले छोटो समयमा पनि रचनात्मक कार्य गरेको उनको जिकिर थियो ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक कात्तिक २३ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।