कर्णाली र प्रदेश १ मा एकसाथ मुख्यमन्त्री फेरिँदै

कर्णाली र प्रदेश १ मा एकसाथ मुख्यमन्त्री फेरिँदै



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसलाई नेतृत्व सुम्पने सहमतिअनुसार पदबाट राजीनामाको घोषणा गरेका छन् । सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरे ।

गत वैशाख २ गते नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो, जसअनुसार कात्तिक १५ गतेसम्म माओवादीले र त्यसपछि कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने पालो बाँधिएको थियो ।

दुई दलबीचको सहमतिअनुसार अब नेपाली कांग्रेसका नेता एवम् कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने छन् ।

उता प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एस)का सांसद राजेन्द्र राईले दाबी पेश गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेलगत्तै गठबन्धनका बहुमत सांसदको हस्ताक्षरसहित राईले दाबी प्रस्तुत गरेका हुन्।

अल्पमतमा पर्ने भएपछि मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएका थिए भने राईले मंगलबार पद तथा गोपनीयको शपथ लिने भएका छन् ।

ज्ञातव्य छ, सोमबार भीम आचार्यको राजीनामासँगै सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आफ्नो बाँकी एक मात्र मुख्यमन्त्री पनि गुमाएर प्रदेश तहको सत्ताबाट सम्पूर्णतहः बाहिरिएको छ ।