एमाले एक्लैले बहुमत ल्याउने ओलीको उद्घोष

एमाले एक्लैले बहुमत ल्याउने ओलीको उद्घोष


तस्बिर रासस


प्रभु साहले भने- ‘केपी बाँचुन्जेल साथ छोड्दिनँ’ !

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।

पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने- ‘हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०–५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।’ नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने जिकिर गरे ।

पाँचदलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले अगाडि भने- ‘जो-जो मिलेर आए पनि एमालले सामना गर्छ ।’

एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै केपी ओलीले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने विश्वास प्रकट गरे । उनले भने– ‘अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।’ आफूहरू तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरूसमक्ष चुनौती दिए ।

नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उनले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताए । उनले भने– ‘हामी देश बनाउन हिँडेका हौँ, पाँचदलीय गठबन्धन भत्काउन हिँडिरहेका छन् ।’

पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको धारणा उनले राखे । ‘हिजो के-के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस्’ भन्दै उनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए ।

सोही अवसरमा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भुमरीमा धकेलिएको र फसाइएको भन्दै देशी-विदेशी प्रक्रियावादीहरूले षड्यन्त्र गरिरहेको बताए । आगामी निर्वाचनबाट जनताको मतबाट एमालेले देशको नेतृत्व गर्ने विश्वास उनले पनि दर्शाए ।

माओवादी परित्याग गरी एमाले अपनाएका अर्का नेता प्रभु साहले केपी ओली बाचुञ्जेल आफूले साथ दिने प्रतिबद्धता जनाउँदै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको तर्क गरे । आगामी निर्वाचनमा प्रदेश २ एमालेमय बन्ने दाबीसमेत उनले गरे । कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डे, माधव ढुङ्गेल, रामप्रसाद न्यौपानेलगायतले मन्तव्य दिएका थिए ।