फाइल फोटो
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार साँझ अबेर गरी उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरेका हुन् । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । जीवन शाहीलाई मुख्यमन्त्रीका बन्न नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन गरेका हुन् ।
नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा शाहीले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
हाल ३५ सदस्यीय प्रदेशसभामा बहुमतका लागि १८ सदस्य आवश्यक पर्नेमा शाहीलाई २१ सांसदको समर्थन प्राप्त भएको हो ।
मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने एक/दुई दिनमा शपथ ग्रहण गर्ने बताइएको छ ।
ज्ञातव्य छ, जीवन शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।
प्रतिक्रिया