‘अयोध्याधाम विश्वको दर्शनीय पवित्रस्थल बन्नेछ’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्याधाम विश्वको सबैभन्दा दर्शनीय पवित्रस्थल बन्ने दाबी गर्नुभएको छ । अयोध्याधामको मंगलबार अवलोकनपछि उहाँले रामको जन्मभूमि अयोध्या माडी नै भएको धेरै कुराले प्रमाणित भइसकेको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले भन्नुभयो, ‘धर्मशास्त्रका कुराले प्रमाणित भइसकेको छ । भारतको अयोध्यालाई १५० वर्षअघिसम्म अयोध्या नभनी त्यतिबेला फैजावाद भन्ने गरिन्थ्यो ।’ थारुहरुको लाठीनाचसमेत भगवान् रामका पालामा वन्यजन्तु धपाउने क्रमको विकासको स्वरुप रहेको उहाँको भनाइ थियो ।
राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसँगै मन्दिरको दर्शनपछि उहाँले भन्नुभयो, ‘भगवान् राम आफ्नो जन्मभूमिमा आउनुभएको छ । सँगै लक्ष्मण, सीता र हनुमान पनि हुनुहुन्छ ।’
अत्याचार भयो भने हात जोडेर बस्नुभएका हनुमानले गधा उठाउने ओलीको भनाइ थियो । उहाँले थप्नुभयो, ‘दानवीय प्रवृत्तिका मानिस होसियार हुनुपर्छ ।’ माडीलाई मणि बनाउन राम फर्किएर आउनुभएको भन्दै उहाँले अब माडी मणि बन्ने बताउनुभयो ।
माडीमा भक्तजनको घुइँचो लाग्ने भन्दै ओलीले भन्नुभयो, ‘दर्शनका कुरा गर्ने होइन । इतिहास र पहिचानको कुरा हो यो ।’ पहिचान र इतिहास उत्खनन गर्दै जाने भन्दै उहाँले यो सत्यको पक्षमा रहेको बताउनुभयो । रिउखोला पहिले रेवा भएको भन्दै त्यसअघि सरेउ भएको र यो धर्म शास्त्रमा समेत उल्लेख भएको उहाँको जिकिर थियो । आउँदो निर्वाचनमा आफ्नो पार्टीको जितसँगै धामको विकासको काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो- ‘एक डेढ वर्ष बजेटको आश नगर्नुस्, निर्वाचनपछि सबै हुन्छ ।’
कार्यक्रममा नेकपा (एमाले)का नेता प्रभू साहले देश बनाउन सकिन्छ भन्ने सन्देश दिन चितवनमा पार्टीको महाधिवेशन गर्न लागिएको बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्रका असल मान्छे एमालेमा आइसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष श्याम विष्ट, स्थानीय नेता श्री दवाडीलगायतले अयोध्याधामको बारेमा जानकारी गराउनुभएको थियो ।
ज्ञातव्य छ, केपी ओली प्रधानमन्त्री भएको समयमा माडी नगरपालिका-९ को अयोध्यापुरी रामको जन्मभूमि अयोध्या भएको भन्दै आफ्नै खर्चमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाउनुभएको थियो । सो क्षेत्रको १०० बिघा जमिनमा अयोध्या धाम बनाउने गरी मन्दिर निर्माण गरिएको छ । यो चितवन क्षेत्र नम्बर ३ मा पर्दछ ।
प्रतिक्रिया