युटुबर या कसैले पनि बोल्न नचाहेको मानिसलाई ‘क्यामेरामा हेरेर बोल्नुस्’ भन्ने अधिकार राख्दैनन् । अपराध अनुसन्धानमा अख्तियारी प्राप्त नेपाल प्रहरीले त कसैको कोठामा गएर सोधपुछ गर्नु र पक्रनुअघि वारेन्ट पुर्जी लिनुपर्छ भने युटुबरले त्यस्तो अधिकार कहाँबाट पाए ?
- बबिता बस्नेत

कुनै विवाहित महिलाले अर्को विवाहित पुरुषसँग विवाह गरिन् । उनीहरू दुवै घर छोडेर भागे । उनीहरू कहाँ बसिरहेका छन् भन्ने पत्ता लाग्यो, प्रहरीसँगै युटुबरहरू कोठामा छिरेर कहाँ के छ समानहरू देखाउन थाले, प्रहरीकै अगाडि ब्याग खानतलासी गर्दै तपाईंलाई श्रीमान्ले पठाएको सुन कहाँ छ ? के हो तपाईंको चाल ? श्रीमती छोराछोरी छोडेर हिँड्ने ? भनी अत्याउँदै केरकार गर्छन् । केरकार गर्ने काम प्रहरीको हो कि युटुबरको छुट्याउन गाह्रो पर्छ । पतिले पत्नीलाई पिट्दै गरेको दृष्य विभिन्न एङ्गलबाट देखाइन्छ ।
यस्तै, केही दिनअघि एक किशोरलाई तिम्री आमाको ब्वाइफ्रेण्ड कोठामा आउँथ्यो होला नि ? को आउँथ्यो ? मलाई थाहा भएन भन्न पाइन्छ ? आमा पोइल गा’को छोरालाई थाहा हँुदैन भन्दै प्रश्न गरियो । युटुबरको यस्तो प्रश्नमा किशोर नङ टोक्दै मौन बसे । उनको अनुहारमा छाएको तनाव क्यामेरामा कैद हुन्छ तर उनको मनोविज्ञानसँग युटुबरलाई मतलब हुँदैन । नाम के हो, कति कक्षामा पढ्ने, कहाँ पढ्ने सम्पूर्ण विवरण सार्वजनिक गरिन्छ । रमिते बनेका ती किशोरका बाबु र छिमेकीहरूले स्कुल पढिरहेको बालकको मानसिक अवस्था र गोपनियतासँग कुनै सरोकार राख्दैनन् । आमा कसैसँग हिँडेको बहानामा सार्वजनिक रूपमा बालबालिकालाई हुर्मत लिने काम युटुबरले गरिरहेका छन् । ती बच्चाहरूको मनोविज्ञानमा के असर पर्ला ? स्कुलमा उनीलाई कस्तो ब्यवहार गरिएला ? बाबुआमाको सम्बन्ध बिग्रनु, बाबु या आमाले अर्को विवाह गर्नुमा बच्चाहरूको के दोष ? अनि कतिपय यस्ता प्रसङ्गमा साथमा बर्दी लगाएका प्रहरी पनि देखिन्छन् । उनीहरूले ‘यो मुद्दामा कसलाई के सोध्ने के नसोध्ने तपाईंहरूको होइन हाम्रो काम हो क्यामेरा बन्द गर्नुस्’ भन्न सक्दैनन् ।
प्रहरीले कुनै पनि अनुसन्धानलाई सार्वजनिक गर्न मिल्दैन । युटुबरका नाममा कुनै पनि ब्यक्तिले कसैको निजत्वमाथि हस्तक्षेप गर्न पाउँदैन । दोश्रो विवाह या कुनै पनि बहानामा महिला, पुरुष या अन्य लिङ्गी कसैलाई पनि सार्वजनिक बेइज्जति गर्न पाइँदैन । ब्यक्तिगत गोपनियताको हक र प्रहरी नियमावली दुवैले यी कुरा गर्न दिँदैनन् । प्रहरी नियमावलीमा रहेको प्रहरी कर्मचारीको कर्तब्यअन्तर्गत एउटा बुँदामा भनिएको छ, ‘स्वास्नी मानिस र केटाकेटीहरूसँग ब्यवहार गर्दा पूरा इज्जत र मनासिव नम्रताका साथ ब्यवहार गर्ने ।’ दोश्रो विवाहको नाममा महिलाहरूको सार्वजनिक बेइज्जति गरिँदै आएको छ । कतिपय अवस्थामा युटुबरका साथ लागेर प्रहरी छापा मार्न जाने र प्रहरीका साथ युटुबर महिला–पुरुष बसिरहेको ठाउँमा पुग्ने देखिएको छ ।
सम्बन्धबिच्छेद नगरी अर्को विवाह गर्नु महिला, पुरुष दुवैको गल्ती र अपराधिक कार्य हो । बहुविवाहलाई हाम्रो कानूनले अपराध मानेको छ । पतिको सम्पत्ति लिएर, बालबच्चा अलपत्र पारेर अर्को मान्छेसँग हिँड्नु महिलाको गल्ती, ब्यवकुफी र अपराध पनि हो । यस्ता कार्यमा संलग्न हुनेलाई कार्वाही गर्न हामीसँग बहुविवाहको कानून छ । अरुको सम्पत्ति हिनामिना गर्नेलाई कार्वाही गर्न पनि छुट्टै कानून छ । आफूले कमाएको सम्पत्ति लिएर हिँड्ने पत्नीलाई पतिले कानूनी कार्वाही अघि बढाउनुपर्नेमा हामीकहाँ युटुबमा रुवाबासी गर्ने गरिएको छ । युटुब या कुनै पनि मिडियामा रोएर सम्पत्ति फिर्ता आउँदैन, कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्छ । यस्ता झगडामा युटुबमा बोल्दा जे–जस्ता शब्द प्रयोग गर्ने गरिएका छन् कतिपय त्यस्ता शब्दहरू कानूनतः प्रयोग गर्न पाइँदैन । यस्तो अपराधका लागि हामीसँग गाली-बेइज्जतीसम्बन्धी कानून छ ।
पारिवारिक गोपनियताअन्तर्गत ‘दाम्पत्य जीवनको क्रममा पति र पत्नीबीच मात्र जानकारी हुने एकअर्काको गोपनियतासँग सम्बन्धित विषय पति र पत्नीबीच चलेको मुद्दाका सन्दर्भमा आवश्यक भएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ’ भनिएको छ । तर हामीकहाँ पति पत्नीका गोपनियता भङ्ग हुने भनाइ र बेडरुममा लिएका तस्बिरहरू मिडियामा अहिले छरपष्ट छन् ।
केही समययता हामीकहाँ सामान्य रूपले घरमा मिलाउन सकिने कुरालाई युटुबमा ल्याएर मानिसहरू ब्यक्तिगत घटनालाई विश्वब्यापी बनाइरहेका छन् । आफ्नै आमाले छोरीलाई यसको बानी राम्रो छैन, यति दिन हराएर कोसँग बसेर आई भनेर पनि युटुबमा बोलेको भेटिन्छ । आमाले त्यसो भन्दै गर्दा छोरीलाई फोकस गरेर देखाइन्छ । भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी छोरीको बारेमा सार्वजनिक रूपमा त्यसरी बोल्ने आमालाई सामान्य भन्ने कि असामान्य ? असामान्य मानिसले बोलेको कुरा जस्ताको तस्तै सार्वजनिक रूपमा देखाउन पाइन्छ ? ती किशोरीको भविष्यको जिम्मा युटुबरले लिन्छन् ? घर–परिवारमा हुने गरेका झैझगडालाई यसले यस्तो भन्यो तपाईं के भन्नुहुन्छ ? यसले तपाईंलाई त्यसो भन्न पाउँछ त ? भन्दै आफ्नै छिमेकी, नातेदारहरूबीच झगडा लगाउनमा युटुबरहरू लागिपरेका छन् । नेपाली समाजमा त्यसै पनि नकरात्मक कुराहरूले महत्व पाउने गरेको थियो, युटुबरले थप विषाक्त बनाइरहेका छन् । कति मानिसलाई कसैले क्यामेरा लगेर तेस्र्याउँदैमा नबोले पनि हुन्छ भन्ने थाहा छैन । कतिचाँहि जानकारी भएर पनि युटुबमा छाउन र भाइरल हुन बोलिरहेका छन् । सीमित समयका लागि भएको भाइरलको असर जिन्दगीभर पर्न सक्छ भन्ने बारेमा सोचेको देखिँदैन ।
कसैको बेडरुम, किचनलगायतका स्थान देखाउने अधिकार कुनै पनि मिडियालाई छैन । अपराध अनुसन्धानका क्रममा सम्बन्धित अधिकारीले बाहेक अरुले कसैको बेडरुममा पसेर त्याहाँ के छ खोजीनीति गर्न पाइँदैन । यसो गर्न मिल्दैन भन्ने हामीसँग मूल्य–मान्यता मात्र होइन कानून नै छ तर कानूनको प्रयोग भएको छैन । सामान्य छलफल, बहस र सम्झौतामा टुङ्गिन सक्ने निजी कुराहरू जहाँ बसेर पनि हेर्न मिल्ने मिडियामा आउँदा त्यसको कहाँ, कसलाई, कतिबेला, कस्तो असर पर्छ भन्ने बारेमा सोचिएको छैन । आफ्नो जीवनमा भएका कतिपय घटनाहरू समयक्रममा मानिसले बिर्सन चाहन्छन् । कुनै पनि बेला हेर्न मिल्ने र हेर्नु र्ने गरी सुरक्षित रहने यस्ता कुरा बारम्बार अगाडि आइरहँदा सम्बन्धित ब्यक्तिको मानसिक अवस्था के हुन्छ ?
हामीकहाँ ब्यक्तिको गोपनियताको हकसम्बन्धी कानून छ । विसं २०७५ देखि लागु भएको उक्त कानूनको प्रतावनामै ‘प्रत्येक व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनियताको हकलाई सुनिश्चित गर्ने’ भनिएको छ । उक्त कानूनअनुसार कुनै पनि व्यक्तिलाई निजको निजी जीवनसँग सम्बन्धित जैविक वा आनुवंशिक पहिचान, लैङ्गिक पहिचान, यौनिकता, यौन सम्बन्ध, गर्भाधान वा गर्भपतन, कुमारित्व, पुरुषत्व, नपुङ्सकत्व वा शारीरिक रोग जस्ता विषयको गोपनियता कायम राख्ने अधिकार हुनेछ । कानूनको दफा ४ मा भनिएको छ, ‘कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।’
पारिवारिक गोपनियताअन्तर्गत ‘दाम्पत्य जीवनको क्रममा पति र पत्नीबीच मात्र जानकारी हुने एकअर्काको गोपनियतासँग सम्बन्धित विषय पति र पत्नीबीच चलेको मुद्दाका सन्दर्भमा आवश्यक भएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ’ भनिएको छ । तर हामीकहाँ पति पत्नीका गोपनियता भङ्ग हुने भनाइ र बेडरुममा लिएका तस्बिरहरू मिडियामा अहिले छरपष्ट छन् । कानूनमा आवाससम्बन्धी गोपनियताको पनि ब्यवस्था छ । ‘कानूनबमोजिम खानतलासी लिन अधिकारप्राप्त अधिकारी वा निजको आदेशबमोजिम बाहेक कुनै पनि व्यक्तिको आवासमा प्रवेश गर्न वा गराउन वा खानतलासी लिन वा लिन लगाउन हुँदैन ।’ अहिले जसरी हामीकहाँ ‘उहाँका पति या पत्नीको बेडरुममा छौँ’ भन्दै दृष्यहरू देखाइने गरिएको छ, कानूनतः त्यस्तो गर्न पाइँदैन ।
आफूले कमाएको सम्पत्ति लिएर हिँड्ने पत्नीलाई पतिले कानूनी कार्वाही अघि बढाउनुपर्नेमा हामीकहाँ युटुबमा रुवाबासी गर्ने गरिएको छ । युटुब या कुनै पनि मिडियामा रोएर सम्पत्ति फिर्ता आउँदैन, कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्छ ।
चरित्रसम्बन्धी गोपनियताको पनि कानूनी ब्यवस्था छ । भनिएको छ, ‘कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानून बमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन । कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने वा निजको बेइज्जती वा अपमान हुने गरी कुनै पनि प्रकारको काम कारबाही गर्न वा निजको आचरण वा व्यवहारसम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ यस्ता अपराधमा कानूनले तीन वर्षसम्म कैद या ३० हजारसम्म जरिवानाको ब्यवस्था गरेको छ ।
यो कानूनको प्रयोग र कार्यान्वयन गर्ने काम हामी सबैको हो । प्रहरीले अनुसन्धानका क्रममा फोटो खिच्न सक्छ तर ब्यक्तिगत गोपनियतामा आँच आउने खालका छन् भने त्यस्ता फेटोहरू सार्वजनिक गर्न मिल्दैन । युटुबरहरूले अहिले जे गरिरहेका छन् त्यसले हाम्रो समाजलाई कता लगिरहेको छ ? यो अब बहस र कानूनी कार्वाहीको विषय हुन आवश्यक छ । भारतमा युटुबरले मानिसको निजत्वमाथि गरेको हमलालाई लिएर ब्यापक बहस सुरु भएको छ । यस्तो बहसमा प्रहरी प्रशासनले सर्वसाधारणसँग सहयोग मागिरहेका छन् । हामीकहाँ चाहिँ छापा मार्न युटुबरसँगै प्रहरी पुग्दा सर्वसाधारणाले युटुबरले गरेका काम कानूनी झैँ ठान्ने गरेका छन् ।
युटुबर या कसैले पनि बोल्न नचाहेको मानिसलाई ‘क्यामेरामा हेरेर बोल्नुस्’ भन्ने अधिकार राख्दैनन् । अपराध अनुसन्धानमा अख्तियारी प्राप्त नेपाल प्रहरीले त कसैको कोठामा गएर सोधपुछ गर्नु र पक्रनुअघि वारेन्ट पुर्जी लिनुपर्छ भने युटुबरले त्यस्तो अधिकार कहाँबाट पाए ? सूचना विभागबाट पत्रकारको परिचयपत्र पाएको पत्रकारले कसैलाई नसोधी, स्वीकृति नलिई फोटो या भिडियो खिच्न पाउँदैन । पत्रकार आचारसंहिताले पत्रकारलाई बाँधेको छ । कुनै पनि पत्रकारले ब्यक्तिगत गोपनियताको सम्मान गर्नुपर्छ, गरेन भने उसले पाएको प्रेस कार्ड जफत हुन सक्छ । तर युटुबरहरूलाई बाँध्ने कुनै आचारसंहिता छैन न त मुलुकमा साइबर कानून नै छ । यी दुवै बनाउनु आवश्यक छ र नभएको अवस्थामा ब्यक्तिगत गोपनियताको कानून प्रयोग गर्न सकिन्छ, गर्नुपर्छ । कानूनी शासन भएका मुलुकमा निजी जीवन बाँचिरहेका कसैको पनि सार्वजनिक बेइज्जती गर्न र हुर्मत लिन मिल्दैन, पाइँदैन ।
प्रतिक्रिया