लामो समयसम्म (सम्भवतः नेपालको इतिहासमै) योजना आयोगमा रहेर पनि कुनै महत्वपूर्ण कार्य गर्न नसक्ने भनी चिनिएका शङ्करले कसरी आरजु राणालाई रिझाउन सके भन्ने विषयलाई लिएर यतिबेला उपल्लो तहमा टीकाटिप्पणी भइरहेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले केही महत्वपूर्ण मुलुकहरूमा राजदूत नियुक्तिका निम्ति गरेको प्रस्तावित नामहरू हेरेपछि यो सरकारबाट नयाँ आशा राख्ने ठाउँ कतै नभएको भन्ने सन्देश प्रवाह भएको छ ।
वर्षौंदेखि पटक-पटक उच्च जिम्मेवारी पाएर पनि विगतमा कुनै विशिष्ट भूमिका निर्वाह गर्न नसकेका कारण प्रधानमन्त्री देउवामाथि ‘कुडाकर्कट टिप्ने र काम चलाउने’ गरेको भन्ने जस्तो कठोर टिप्पणी सार्वजनिक रूपमा भइरहेको छ । काङ्ग्रेसको कोटामा शेरबहादुर देउवाद्वारा नियुक्तिका निम्ति प्रस्तावित राजदूतहरूमा श्रीधर खत्री, ज्ञानचन्द्र आचार्य र शङ्कर शर्मा रहेका छन् । उल्लिखित तीनै जना आफ्नो क्षेत्रका विज्ञ व्यक्तिका रूपमा चिनिन्छन्, तर वर्षौंदेखि विभिन्न महत्वपूर्ण जिम्मेवारी पाएर पनि उनीहरूले देशको लागि कुनै स्मरणयोग्य योगदान पु¥याएको जानकारी भने नेपाली जनताले पाएका छैनन् । उनीहरूको योग्यता जागिर खाने र आफ्नै ज्यान पाल्ने कार्यमा सीमित भएको छ ।
बेलायतका निम्ति राजदूतसिफारिश ज्ञानचन्द्र आचार्यले त विगतमा देशकै प्रतिष्ठामा आँच पुऱ्याउने कामसमेत गरेको बताइन्छ । एक समय संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि (राजदूत) चयन भएका ज्ञानचन्द्रले आफ्नो लाभका निम्ति देशलाई छलछाम र धोखाधडी गर्ने कामसमेत गरेका थिए । उनी ‘युएन’ प्रतिनिधि पदमा बहाल रहँदै नेपाललाई प्राप्त अवसर आफैंले उपयोग गरेपछि ज्ञानचन्द्रमाथि राज्यलाई छल गरेको आरोप लागेको थियो ।
प्राप्त जानकारीअनुसार भूपरिवेष्ठित राष्ट्रहरूको लागि पालैपालो प्राप्त हुँदै जाने संयुक्त राष्ट्र सङ्घको उपमहासचिव पद राज्यलाई छल गरेर उनी आफैंले ग्रहण गरेका थिए । नेपाललाई प्राप्त उक्त अवसरबारे राज्यलाई जानकारी गराएर कुनै अर्को योग्य व्यक्तिको चयन गर्न पत्राचार गर्नुपर्नेमा ज्ञानचन्द्रले आफूलाई उपमहासचिव बन्न प्रस्ताव आएको भन्दै संयुक्त राष्ट्र सङ्घको लागि नेपाली प्रतिनिधि पद रातारात परित्याग गरेर उपमहासचिव पदमा फाल हानेका थिए । उनका कारण लामो समयसम्म संयुक्त राष्ट्र सङ्घमा नेपाली प्रतिनिधिको पद रिक्त रहन पुगेको थियो । यसअघि मुरारी शर्मा उक्त पदमा हुँदा बीचमै छाडेर युएनको जागिर खान पुगेका थिए । यी दुई पूर्व परराष्ट्रसचिवले गर्दा न्युयोर्कको नेपाली मिसन लामो समयसम्म प्रमुखविहीन रह्यो । नेपालभित्र मात्र होइन विदेशमा पनि यो कार्यको भत्सर्ना भएको थियो । राज्यले तोकेको जिम्मेवारी छोडेर अर्को जागिरमा जाँदा नेपाल सरकार र नेपालीहरूको प्रवृत्तिलाई लिएर संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय जगतमा नकारात्मक टिप्पणीसहित चर्चा भएको थियो । तीमध्येकै एक ज्ञानचन्द्र आचार्यलाई अहिले शेरबहादुर देउवाले बेलायतका निम्ति राजदूतमा नियुक्तिका निम्ति सिफारिश गरेका छन् ।
यस्तै, दोस्रोपटक बेलायतका निम्ति राजदूत बनाएर पठाइएका मुरारी शर्माले राजदूत पदबाट फिर्ता बोलाइएपछि नेपाल नआएर आफूलाई शरणार्थी बनाइदिन माग गर्दै बेलायतमै आत्मसमर्पण गरेका थिए । राजदूतको रूपमा पठाइएका व्यक्तिले त्यसरी आत्मसमर्पण गरेर शरणार्थी बनेपछि नेपालको अन्तर्राष्ट्रिय जगतमै बदनाम भएको थियो । ज्ञानचन्द्रको प्रवृत्तिलाई नजिकबाट नियाल्नेहरूले उनले लगाउने ‘याङ्कल टाइट प्याण्ट’को मात्र ख्याल गरेका छैनन्, बेलायतको लागि राजदूत भइसकेपछि नेपालको बदनाम गर्न अर्को के काण्ड गर्ने हुन् भन्ने चिन्ता समेत गर्न थालेका छन् । काङ्ग्रेस नेता डा. प्रकाशशरण महतमार्फत आरजु राणासम्म बलियो पहुँच बनाउन सफल ज्ञानचन्द्रलाई आरजुले किन आफ्नो रोजाइमा पारेकी हुन्, त्यसबारे भने जानकारी हुन सकेको छैन । प्रकाशशरण परराष्ट्रमन्त्री छँदा ज्ञानचन्द्रले राम्रो खातिरदारी गरेको परराष्ट्रका पुराना कर्मचारीहरु बताउँछन् । देउवाको चौथो प्रधानमन्त्रीत्वकालमा यिनलाई परराष्ट्र सल्लाहकार पनि बनाइएको थियो ।
जनरल पदमबहादुर खत्री राजा महेन्द्रको कार्यकालमा प्रधानसेनापति बन्ने लाइनमा थिए । तर खत्रीलाई सेनापति बनाउन खतरनाक हुन सक्ने ठानेर राजाले अमेरिकाको राजदूत बनाएर पठाइदिएका थिए । महेन्द्रको बुझाइमा उनी विश्वासयोग्य थिएनन्, त्यसैले सेनाको प्रमुख बन्नबाट उनलाई रोकिएको थियो । पदम खत्रीका एक छोराले अमेरिकाको नागरिकता लिइसकेका छन् भने अर्को छोरा श्रीधर खत्रीलाई आरजु राणाको इच्छाअनुसार अमेरिकाको लागि नेपालको राजदूतमा नियुक्तिका निम्ति सिफारिश गरिएको छ । श्रीधर आफ्नो विषयको ज्ञाता र योग्य व्यक्ति मानिन्छन्, तर आरजुको रोजाइमा श्रीधर कसरी पर्न पुगे, त्यसलाई भने रहश्यपूर्ण ठानिएको छ ।
भारतका निम्ति राजदूत नियुक्तिका लागि सिफारिशमा परेका शङ्कर शर्मालाई कुनै बेला रविन्द्रनाथ शर्मा (स्वर्गीय) ले राष्ट्रिय योजना आयोगमा का.मु. सदस्यको रुपमा घुसाएका थिए । त्यसपछि धेरैथरी सरकारले शङ्करलाई योजना आयोगमा काम गराइराखे र, योजना आयोगको उपाध्यक्षसम्म बनाउन थालेपछि ‘जागिर खान जान्ने’ मानिसका रूपमा उनीबारे टिप्पणी हुने गरेको थियो । लामो समयसम्म (सम्भवतः नेपालको इतिहासमै) योजना आयोगमा रहेर पनि कुनै महत्वपूर्ण कार्य गर्न नसक्ने भनी चिनिएका शङ्करले कसरी आरजु राणालाई रिझाउन सके भन्ने विषयलाई लिएर यतिबेला उपल्लो तहमा टीकाटिप्पणी भइरहेको छ । स्वदेशी विदेशी सबैलाई रिझाउन खप्पीस शंकर शर्माले देशको लागि सिन्को भाँचेको कसैलाई थाहा छैन । उनको विशेष योग्यता भनेकै ‘जागिर खाइरहन सक्नु’ हो । शंकर शर्मा र पूर्व मूख्यसचिव विमल कोइराला आरजुको साह्र निकट व्यक्तिको रुपमा चिनिन्थे । राजदूत चयनमा आरजु राणा देउवा हाबी भएकोले यसप्रकारका टिप्पणीहरू सार्वजनिक रूपमै हुने गरेको बुझिन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का निरीह जस्तै हुन् । किनकि, प्रकाशशरण र आरजुबाट सब कुरा मिलिसकेपछि प्रम देउवाले ल्याप्चे लगाउने गरेका छन् । यी तीन नियुक्तिमा आन्तरिक लेनदेनको कुरा बाहिर आइसकेको छैन । तर अब बाँकी पदहरुको लागिचाहिँ टेण्डर हुने कुरा निश्चितप्रायः छ । बयोवृद्ध देउवाको कार्यशैली खासगरी पत्नी आरजुमाथिको चरम निर्भरता र देशका जल्दाबल्दा समस्याहरुप्रतिको बेवास्ताले गर्दा यसै पनि विवादित देउवा नेपाली जनमानसबीच अझ गिरेका छन् ।
यतिबेला संसारका तेइस मुलुकहरूमा राजदूत पद रिक्त रहेकोमा अमेरिका, बेलायत र भारतका निम्ति पदपूर्तिको प्रक्रिया शुरु भएपछि विभिन्न बीस मुलुकमा राजदूत नियुक्त हुन बाँकी रहेको छ । विश्वका तीन ठूला प्रजातान्त्रिक मुलुकको राजदूत काङ्ग्रेस आफैंले बनाएपछि शक्तिशाली राष्ट्रहरू चीन र रसियालगायतमा अन्य बामपन्थी पार्टीहरूले दाबी गरेका छन् । अब चीन, रसिया, जापान, कोरिया, अष्ट्रेलिया, म्यानमार, कतार, साउदी अरेबिया, बहराइन, ओमान, साउथ अफ्रिका, श्रीलङ्का, ब्राजिल, डेनमार्क, इजिप्ट, स्पेन, रसिया, थाइल्याण्ड, बङ्लादेश र मलेयिशामा राजदूत पद रिक्त रहेका छन् । विगत केही वर्षयता दलहरूको भागबण्डाका आधारमा राजदूत चयन हुँदै आएको छ । कुल २३ मध्ये माओवादीले बढीमा तीन, माधव नेपाल समूहले दुई र उपेन्द्र यादव समूहले दुई तथा काङ्ग्रेसले बढीमा पाँच स्थान प्राप्त गर्ने र बाँकी स्थानमा कर्मचारीमध्येबाट चयन गरिने सम्भावना रहेको छ ।
प्रतिक्रिया