राष्ट्रवाद, राजा र धर्म भन्दा सर्वोपरि हुन्छ राष्ट्र

राष्ट्रवाद, राजा र धर्म भन्दा सर्वोपरि हुन्छ राष्ट्र


झलक्क हेर्दा राष्ट्र, राजा, धर्म एकै लागे पनि यी तीन भिन्न कुरा हुन् जो एकअर्काका पुरक पनि हुन सक्छन् र विपरीत पनि ।

  • स्वयम्भुनाथ कार्की

पञ्चायतको समयमा विद्यालय पढ्दा ३ या ४ कक्षादेखि नै पञ्चायत एक विषयको रूपमा पढ्नु पर्दथ्यो । सय पुर्णाङ्कको सो विषय उत्तीर्ण हुन ३० नम्बरको आवश्यकता पर्दथ्यो । त्यसैले एसएलसी वा प्रवेशिकासम्म जसरी भए पनि उत्तीर्णाङ्क पुग्ने गरेर भए पनि पढ्नु पर्दथ्यो । त्यो विषयमा व्यक्ति-प्रशंसा थिएन तर आफ्नो मुलुकको राज्य कसरी सञ्चालन हुन्छ भन्ने कुराको जानकारी थियो । सानैदेखि गाउँसभा र गाउँपञ्चायतको फरक के हो ? पञ्चायतले गरेको काम ठिक छ कि छैन, नियमअनुसार छन् कि छैनन् भन्ने थाहा हुन्थ्यो । कुनै-कुनै शिक्षकहरू अलि विचित्रको कुरा पनि घुसाउँथे । जस्तै- वर्ग समन्वयको निमित्त गरिएको वर्गीय सङ्गठनलाई दलविहीनतामा दल भनेर काइते पाराले निर्दलीय व्यवस्था हुन सक्दैन भन्न खोज्थे । मन्त्रिमण्डल गठनको सन्दर्भ पढाउँदा ‘सुनेको कुरा’ भन्दै राजाले पहिले मिति खाली भएको राजीनामा लिएर मात्र मन्त्री बनाउने गरिन्छ अरे भन्थे । अटेर गर्नेलाई नियन्त्रण गर्न पहिले राजीनामा नै लिइन्थ्यो भने त्यो अनुचित रहेनछ भन्ने कुरा वर्तमानले सावित गरिरहेको छ । हरेक नियुक्ति तथा बर्खास्तगी रिटको विषय बन्नाले धेरै समय श्रोत र साधन सरकारले यसैमा लगाउनुपर्ने हुन्छ ।

वर्तमानमा महेन्द्रीय राष्ट्रवाद भनेर घृणा फैलाउन खोजिएको राष्ट्रवादको व्याख्या पहिलोपल्ट २०१९ सालको संविधानको धारा २ ले परिभाषित गरेको र वर्तमान संविधानले धारा ३ मा परिमार्जन गरेको परिभाषाको राष्ट्रप्रतिको समर्पण हो । २०१९ मा ‘जुनसुकै धर्म, वर्ण, जात वा जातिका भए पनि समान आकाङ्क्षा राख्ने र राजमुकुटप्रति आस्थाद्वारा एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रूपमा एक राष्ट्र हो’ भनिएको थियो । २०७२ मा धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनिएको छ । अर्थात एकै आकांक्षा नभए राष्ट्र हुँदोरहेनछ भन्ने कुरा वर्तमानले पनि स्विकार गरेको छ ।

राष्ट्रराज्य सिद्धान्त भनौँ या राज्यराष्ट्र सिद्धान्त, यी सबै परिभाषा बुद्धिविलासलाई भने ठिक होला, तर समग्रमा राष्ट्रको परिभाषा गर्ने पारम्पारिक, वैधानिक, सर्वमान्य सिद्धान्त यही नै हो । अनि यसअनुसारको राष्ट्रप्रतिको समर्पण, मायामोह, आत्मिक बन्धन अनि कर्तव्यपालन समग्रमा राष्ट्रवाद हो । राजा महेन्द्रले यसमा केही सोच अरु थपेका थिए । पहिलो- ‘आफ्नो ब्रम्हले देखेको कुरा निर्धक्कसँग भन्नु वा गर्नु पर्दछ ।’ अर्को- ‘नबिराउनु नडराउनु ।’ त्यस्तै, ‘आफ्नो नागरिक हक लिनु, प्रयोग गर्नु तर अर्काको नागरिक हक प्रयोगमा बाधा नबन्नु ।’ फेरि- ‘व्यक्तिको कारणले हैन उसको कामको कारणले समर्थन वा विरोध गर्नु ।’

अरुले महेन्द्रीय राष्ट्रवादको जे अर्थ लगाउँछन् लगाउन्, तर राष्ट्रवादमा अन्य कुनै विषेशणको आवश्यकता छैन र यही नै राष्ट्रवाद हो । त्यसैले राष्ट्रवादी, राजावादी वा गणतन्त्रवादी जे पनि हुन सक्छ- त्यसमा राष्ट्रहितचाहिँ सर्वोपरि हुनुपर्छ । राष्ट्रवादी धर्मसापेक्ष वा निरपेक्ष जे पनि हुन सक्छ- आधारचाहिँ उही राष्ट्रहित सर्वोपरि । म राष्ट्रवादी भएर राजावादी किनभने विनाराजा मैले राष्ट्रहित देख्न सकिनँ । मसँगकोे दर्शनभेटमा कुना लगाइएका राजाको म राजावादी हैन राष्ट्रवादी हुँ भन्ने उद्गार आएको छ । अब राजावादीहरूमा पहिलो समर्पण राजाप्रति हुन्छ, बरु वर्तमान भुटानको अवस्था नै किन नहोस् राजसंस्था चाहिन्छ भन्ने सोच प्राथमिकतामा हुन्छ ।

त्यसै गरेर धर्मवादीहरूमा त झन् राष्ट्र रहे रहोस् नरहे नरहोस्, राजा हुन् वा नहुन्, धर्म भने हुनै पर्दछ भन्ने धारणा रहेको हुन्छ । शासन प्रणाली, खाका, आदि केही कुरा हुन्न केवल धेरै कम अझ नगन्यले मात्र अर्थ लगाउन सक्ने वेदमा विभिन्न प्रकारका राज्य व्यवस्था देख्छन्, तर त्यसको व्याख्या भने गर्दैनन् । त्यसैले झलक्क हेर्दा राष्ट्र, राजा, धर्म एकै लागे पनि यी तीन भिन्न कुरा हुन् जो एकअर्काका पुरक पनि हुन सक्छन् र विपरीत पनि । जर्ज वेकब होेलेकले राज्य सञ्चालनमा चर्चको नियन्त्रण ठिक भएन भनेर धर्मनिरपेक्षताको अवधारणामा संघर्ष गरे । तर यता त न मन्दिर न गुम्बा न अरु धार्मिक गुरुहरू नै निर्देशक भए, यीमध्येबाट भए न स्विकार गर्न सकिन्छ ! राज्य सञ्चालनमा हिन्दु अधिराज्य भनिए पनि धर्माचार्यहरूको हालीमुहाली भएन पश्चिममा चर्चको हालीमुहाली जस्तो । बरु धर्मनिरपेक्ष घोषणापछि बहुधार्मिक राष्ट्रको नाममा विभिन्न धर्मको हस्तक्षेप महसूस गर्न सकिने गरेर बढेको छ ।