अदालती अवरोधलगायत समसामयिक विषयमा माधव नेपाल प्रतिक्रियाविहीन

अदालती अवरोधलगायत समसामयिक विषयमा माधव नेपाल प्रतिक्रियाविहीन


आगामी निर्वाचनसम्म पाँच दलिय गठबन्धन कायम रहने दाबी

  • डम्बर निदाल, डडेल्धुरा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँच दलिय गठबन्धन कायम रहने दाबी गरेका छन् ।

पार्टी विभाजनपछि पहिलोपटक जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुधबार डडेल्धुरा आइपुगेका नेता नेपालले आगामी निर्वाचन अहिलेकै पाँचदलीय गठबन्धन मिलेर लड्ने जिकिर गरे ।

केपी ओलीको मुट्ठीबाट उन्मुक्ति खोजेर संविधानको रक्षा गर्न आफुहरू विद्रोहमा उत्रिएको तर्क गर्दै उनले नेकपा एमाले पार्टी नभइ जेल भएको आरोप लगाए । एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको अभिव्यक्ति दिनासमेत उनी चुकेनन् ।

‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ, तर त्यही सूर्य चिन्हमा ग्रहण लागेको छ, त्यसैले अहिले हामी कलम लिएर अघि बढेका छौँ र, न्यायको पक्षमा उभिने कलम नै हो भनी अब जनताले चिन्नेछन्’- उनले भने ।

देशमा समतामुलक समाज स्थापना गर्ने उद्देश्यले पाँचदलीय गठबन्धन भएको र यही गठबन्धनले सामाजिक न्याय दिने जिकिर उनको थियो ।

कार्यक्रममा एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा संसदीय निर्वाचनका प्रत्यासी डा. तारा जोशीलगायतको समूह नेकपा (एकिकृत समाजवादी) मा समाहित भएको घोषणा गरिएको थियो ।

ज्ञातव्य छ, सर्वोच्च अदालतका प्रधानन्यायाधीशको विषय, महाअभियोग, एमसीसी र सरकारका कामकारवाहीलगायत समसामयिक राष्ट्रिय राजनीतिका बारेमा भेलामा नेता नेपालले केही बोलेनन् । पछि पत्रकारले प्रतिक्रिया लिन खोज्दा पनि उनले ‘अहिले नै यी विषयमा बोल्नु हतार हुने’ भन्दै तर्किएका थिए ।