एमाले महाधिवेशनमा जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी गराइने

एमाले महाधिवेशनमा जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी गराइने



बुटवल-नारायणगढ सडकखण्ड मर्मत गर्न आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने बताइएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिएका हुन् ।

उद्घाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराएर चितवनको नारायणी नदी किनारमा रहेको खाली मैदानमा महाविधेशनको उद्घाटन समारोह गर्ने भएको छ ।

यस्तै, सो पार्टीले छिमेकी जिल्लाबाट पनि महाधिवेशनको उद्घाटनको दिन सहभागी गराउने भएको छ । एमालेले पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा, धादिङ, गोरखालगायत जिल्लाबाट पनि उद्घाटन समारोहमा सहभागी गराउने तयारी गरेको हो । बताइएअनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ-आफ्नो सङ्गठनको ब्यानर र झाँकीसहित सहभागी हुनेछन् ।

यस्तै, महाधिवेशनका लागि ३०० स्वयमसेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताए । मैदानमा सबै सहभागी नअट्ने आँकलन गर्दै एमालेले बजारको मुख्य मुख्य चोकमा डिजिटल स्क्रिन राख्ने योजना बनाएको हो ।

यस्तै, चितवनमा हुने महाधिवेशनलाई ध्यानमा राखेर एमालेले बुटवल-नारायणगढ सडक खण्डको मर्मत गर्न सडक विभागलाई अनुरोध गरेको छ । महाधिवेशनमा आउने प्रतिनिधिलाई सहज गराउनका लागि सडकमा रहेको खाल्डाखुल्डी पुर्ने र डाइभर्सनलाई व्यवस्थित गर्नेबारे सडक विभागसँग छलफल भइरहेको एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराईले जानकारी दिए । उनका अनुसार वुटबलबाट महाधिवेशनस्थलमा गाडीबाट साढे दुईदेखि तीन घण्टामा पुग्ने गरी सडक मर्मत गरिने छ । पुनःनिर्माण भइरहेको उक्त सडक खण्डमा अहिले ठाउँठाउँमा खाल्डाखुल्डी र ग्राबेल रहेको छ ।

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगका १५/१५ जना गरी कूल २५५ जना निर्वाचित हुने छन् । पहिलो पटक विद्युतीय मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुने छन् ।