एमालेपछि कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको दाबी

एमालेपछि कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको दाबी


तस्बिर रासस


प्रचण्डका कारण बहुमतको सरकार जोगाउन नसकेको गोकर्ण विष्टको आरोप

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले सूर्यविनायक नगरपालिका-५ कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता विष्टले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए ।

‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गऱ्यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ’- उनको भनाइ थियो ।

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनँले यो समयमा एमालेकोे जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राखे ।

एमालेका सचिव विष्टले अगाडि भने, ‘आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट-उपगुट रहेन, यो पार्टी साङ्गठानिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १०औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजानेछ ।’

सत्ता–गठबन्धनका नेताहरूले एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भने- ‘यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।’

नेकपा एमालेसँग करिब साढे दुई वर्ष प्रचण्ड मिल्दा एमालेको बलियो सङ्गठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उनले प्रचण्डले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको धारणा राखे ।