एमाले महाधिवेशन : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

एमाले महाधिवेशन : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन


नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए ।

सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको उल्लेख गर्दै थापाले गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला कमिटी, मजदूर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका जानकारी दिए ।

उनका अनुसार गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनीयरिङ एसोसिएन नेपाल (पिन), उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमासमेत प्रतिनिधि चयन भएका छन् ।

एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले आज चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने भएको छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । विधान महाधिवेशन सकाएको एमालेले अवको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५÷१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।