फाइल फोटो
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजी निवास बुढानिलकण्ठमा शनिबार बसेको बैठकमा आइतबारदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा पेश हुने प्रस्तावका बारेमा छलफल भएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायत कार्यसूची तय गरेको छ । साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता अनुमोदन गरिएको बताइएको छ ।
कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ । कांग्रेसको संशोधित कार्यतालिकाअनुसार बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गरिने कार्यतालिका छ ।
प्रतिक्रिया