मालेको महासचिवमा पुनः मैनाली
सीपी मैनालीले नेतृत्व गर्दै आएको नेकपा (माले)को आठौँ महाधिवेशनले महासचिवमा पुनः मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै सोमबार चितवनमा बसेको पहिलो बैठकले महासचिवमा सीपी मैनालीलाई चयन गरेको हो ।
यही कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पु¥याएको छ । पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिए । महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद् र राजनैतिक प्रतिवेदन महासचिव मैनालीलले प्रस्तुत गरेका थिए ।
स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए । पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले बताए । महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भइसकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ । विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ ।
महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई जनताको पार्टी बनाउने बताए । अहिलेको बाटो सबै कम्युनिष्टको मार्क्सवादी बाटो रहेको भन्दै उनले गलत सोच लिएर हिँड्नेले देशका लागि काम नसक्ने जिकिर गरे । नयाँ शक्तिलाई लिएर देश, जनताको आवश्यकताअनुसार देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रूपमा मालेलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
अहिलेको संसदीय व्यवस्था खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने मालेको योजना रहेको महासचिव मैनालीको भनाइ थियो ।
प्रतिक्रिया