एमाले-महाधिवेशनपछि कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्ने दाबी !

एमाले-महाधिवेशनपछि कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्ने दाबी !



महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल ऱ्याली गरिने

नेकपा (एमाले)को १०औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल ऱ्याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ऱ्याली गरिने जानकारी दिएका हुन् । ऱ्याली यही मङ्सिर ७ गते हुनेछ ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौं-चितवन, बुटवल-चितवन र वीरगञ्ज-चितवन लक्षित गर्दै मोटरसाइकल ऱ्याली गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न ऱ्याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट ¥यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।

मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले बताए । मुख्यगरी पूर्व-पश्चिम/उत्तर-दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।

एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईको भनाइ छ । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको बताइएको छ ।

एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको र महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै फेसबुक, टिकटक र ट्वीटरलगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने दाबी गर्दै भट्टराईले भने, ‘अब कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्नेछन् ।’ अहिले देशमा दुई विचार धार रहेको भन्दै उनले अघिल्ला गल्तीलाई नदोहोऱ्याइ एकता गरिने बताए । एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी बन्ने उनको जिकिर थियो ।