१४औँ महाधिवेशनको सन्दर्भमा कांग्रेसले लिनुपर्ने अबको बाटो

१४औँ महाधिवेशनको सन्दर्भमा कांग्रेसले लिनुपर्ने अबको बाटो


१४औँ महाधिवेशनलाई सशक्त ढङ्गले राजनैतिक, वैचारिक र सैद्धान्तिक अधिवेशनको रूपमा ग्रहण गर्न सके मात्रै महाधिवेशनको सार्थक उपलब्धि हुनेछ, अन्यथा कर्मकाण्ड मात्रै सीमित रहनेछ ।

  • इन्द्रबहादुर बराल

नेपाली काङ्ग्रेसले १४औँ महाधिवेशनका सम्बन्धमा देखिएको अन्यौल र अनिश्चितता चिर्दै अब महाधिवेशन हुने पक्कापक्की भएको छ । तथापि गौरवशाली इतिहास बोकेको नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा सैद्धान्तिक र वैचारिक रूपले हुनुपर्ने जति बहस र छलफल नहुनु दुःखद पक्ष हो । अहिले अधिवेशनको रन्कोले छोए पनि वैचारिक दृष्टिकोणबारे खासै चर्चाहरू सुनिएको छैन । यसर्थ कुनै पनि तह र तप्कामा नेतृत्व लिन चाहने काङ्ग्रेसले पार्टीलाई कसरी गतिशीलता दिन सकिन्छ भन्ने विषयमा आफ्ना धारणाका साथ साथीहरूबीच आफू प्रस्तुत हुनु जरुरी छ । वडा, पालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, क्षेत्रिय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेशसभादेखि केन्द्रीय नेतृत्वमा दाबी गर्नेहरूसम्मले पनि पार्टीको भोलिको गोरेटो प्रष्ट रूपमा देखाउन सकेका छैनन् ।

पार्टीका हरेक अधिवेशनहरूले केवल नेतृत्व मात्रै परिवर्तन गर्ने होइन आवश्यकताअनुरुप पार्टी नीति, सिद्धान्त र कार्यक्रमहरू पनि समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । जस्तो वीरगञ्जमा सम्पन्न छैटौँ महाधिवेशनबाट नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादलाई ग्रहण गरेको स्मरण गर्न जरुरी भएको महसूस हुन्छ । त्यस्तै २०६२/०६३ को जन-आन्दोलनपछि संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रताको मुद्दा छोडेर गणतन्त्र र धर्मनिरपक्षतामा काङ्ग्रेसले आफ्ना पुराना मान्यतालाई परिमार्जन गर्दै यहाँसम्म आइपुगेको तथ्य स्मरणयोग्य छ । त्यसैले काङ्ग्रेसको भावी नेतृत्वका आकाङ्क्षीहरूले वैचारिक पक्षलाई विशेष जोड दिनुपर्ने देखिन्छ । केवल एकअर्कालाई आरोप/प्रत्यारोप गरेर कसैको उचाइ बढ्न सक्तैन ।

नेपाली काङ्ग्रेसको अबको मार्गचित्र कस्तो हुने हो, त्यसबारे आफ्नो धारणा १४औँ महाधिवेशनमा मुख्य विषय बनाउन आवश्यक छ । सर्वप्रथम नेपाली काङ्ग्रेसको आदर्श र सिद्धान्तलाई समयानुकूल परिमार्जन वा पुनर्ब्याख्या आवश्यक छ/छैन त्यो पनि प्रष्ट हुनुपर्छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद काङ्ग्रेसको आदर्श हो भने समानता, स्वतन्त्रता, न्याय र भ्रातृत्व यसका सिद्धान्त हुन् । यस्ता राजनैतिक, सैद्धान्तिक र वैचारिक पक्षको गहनतालाई जनमानसमा व्यापक प्रचारप्रसार गरिनुपर्छ ताकि पार्टीको आदर्श र सिद्धान्तका बारेमा सबै जानकार हुन सकुन् । त्यस्तै बीपी कोइरालाको परिकल्पनाको समाजवादमा नेपाली समाजलाई कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण छ । प्रत्येक नेपालीको एउटा घर होस्, खेतिपाती वा खनजोत गरेर खान पुग्ने आफ्नै जमिन होस् । उनीहरूका केटाकेटले उचित शिक्षा पाउन र आवश्यक परेको बखत ओखतिमुल गर्न सकुन् भन्ने बीपीको सपनालाई अहिलेको समयसुहाउँदो चिन्तन र दृष्टिकोण के हो ? चालु अधिवेशनमा त्यतातिर पो बहस चलाउनुको सट्टा त्योभन्दा म राम्रो जस्ता निम्न कोटीका विचारले काङ्ग्रेसलाई मजाकमा उडाइरहेको छ । कम्तीमा केन्द्रीय नेतृत्वका आकाङ्क्षीहरूले आफू नेतृत्वमा पुगे पार्टी यसरी हाँक्छु भन्ने प्रष्ट मार्गचित्र प्रस्तुत गर्नु एक जिम्मेवार नेताको दायित्व हो ।

नेपाली काङ्ग्रेसजस्तो विशाल पार्टी हाँक्नेको छाती पनि त्यत्तिकै विशाल हुनुपर्छ र सहिष्णु पनि बन्न सक्नुपर्छ । भनाइ नै छ ‘सहेते सहर्ष गुणा’ सहनशीलता र क्षमाशीलता नेतृत्वमा हुनुपर्ने अपरिहार्य गुण हुन् जसले मानिसलाई महान् बनाउँछ । यो नेतृत्व कर्ताले बिर्सनै नहुने मूलमन्त्र हो । नेपाली काङ्ग्रेसको पार्टी सभापति बन्ने तीव्र आकाङ्क्षाको वशमा परेर आरोप/प्रत्यारोपमा ओर्लनु किमार्थ बुद्धिमानी होइन । त्यसैले आफ्नो योजना र कार्यक्रमका साथ आफ्नो उम्मेद्वारीको औचित्य पुष्टि गर्दा त्यसले सकारात्मक सन्देश जान सक्छ र चुनाबी प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सहज बनाउँछ । महाधिवेशनमा नेतृत्व आकाङ्क्षीहरूले पार्टीको आर्थिक, राजनैतिक, सामाजिक, औद्योगिक, कृषि, शैक्षिक, धार्मिक, सांस्कृतिक आदि विभिन्न पक्षको विस्तृत कार्ययोजनाका साथ प्रस्तुत हुन सके त्यसले नेतृत्वकर्ताको ओज बढाउँछ । होइन खाली संस्थापन पक्षको मात्रै विरोध गर्नेले कथम् कदाचित नेतृत्व हात लागि हाल्यो भने पनि त्यही जिम्मेवारी ले थिचेर उठ्नै नसक्ने अवस्था पनि आउन सक्छ । त्यसकारण पनि अघि-पछि चारैतिर सोच विचारका साथ महाधिवेशनमा आफ्नो उम्मेद्वारीको औचित्यलाई पुष्टि गर्नु उपयुक्त हुन्छ ।

वर्तमान कथित ठुला दलहरू झट्ट हेर्दा यिनीहरूका विचार र दृष्टिकोणहरूमा एकरुपता भएको पाइन्छ । चाहे नेकपा (एमाले) होस् या माओवादी केन्द्रदेखि नेकपा (एकीकृत समाजवादी) ले पनि न लोकतन्त्रको माला जप्न छोडेका छन् न समाजवादको । यसरी हेर्दा नेपालमा संसद्मा उपस्थित कुनै पनि कम्युनिस्ट पार्टी अब कम्युनिस्ट नै रहेन भन्न सकिन्छ । उनीहरू अब प्रष्ट रूपमा लोकतान्त्रिक समाजवादी भएको बुझ्न कठिन छैन । यद्यपि उनीहरूको त्यो लोकतान्त्रिक समाजवाद परिस्थितिजन्य स्विकारोक्ति मात्रै पनि हुन सक्छ या रणनीतिक चालबाजी । तर, जे होस् अहिले जे देखिएको छ त्यही मान्य हो भने नेपाली काङ्ग्रेसले कम्युनिस्टहरू भन्दा धेरै पहिले दुरगामी दृष्टिकोणका साथ लोकतान्त्रिक समाजवादलाई आत्मसात गरेको प्रष्टिन्छ । त्यसैले नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा एक मात्र जनताको पार्टी हो । यसले विगतमा लाक्षणिक रूपमै भए पनि समाजवादलाई व्यबहारमा उतार्ने काम गरेको छ ।

नेपाली काङ्ग्रेसमा देखिएको अविश्वास र असमझदारी हटाएर अघि बढ्ने गरी त्यसको विस्तृत कार्ययोजना आशन्न महाधिवेशनबाट पारित गर्नुपर्छ । पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्रतिष्ठाको विषय नबनाइ एउटा सामान्य लोकतान्त्रिक प्रक्रियाको रूपमा ग्रहण गर्दै आपसी विश्वास र समझदारीलाई कसिलो बनाउँदै जानुपर्ने देखिन्छ । यो १४औँ महाधिवेशनलाई सशक्त ढङ्गले राजनैतिक, वैचारिक र सैद्धान्तिक अधिवेशनको रूपमा ग्रहण गर्न सके मात्रै महाधिवेशनको सार्थक उपलब्धि हुनेछ, अन्यथा कर्मकाण्ड मात्रै सीमित रहनेछ । तसर्थ, यो १४औँ महाधिवेशनले भोलिको गन्तव्य र बाटो सुनिश्चित गर्नैपर्छ ।