- प्रकाश सिलवाल, रासस (काठमाडौं)
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिव ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको सङ्ख्या तुलनात्मकरूपमा कम हुने आकलन पनि गरिएको छ । सो पार्टीको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले उपस्थित नहुने पाहुनाले सफलताको शुभकामना सन्देश पठाएको जनाउनुभयो ।
अहिलेसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिवरेशन पार्टीले आउने निश्चित गरेका छन् । फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ ।
त्यसैगरी बङ्गलादेशको कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलङ्काबाट जेभिपी पार्टीका प्रतिनिधि आउने बताइएको छ । एमालेका विदेशका प्रमुख भट्टराईले कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चित गरेको र फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने निश्चित गरेको छ ।
युरोपमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दाराख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन् । दक्षिण एसियाका अरु रुलिङ पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन् ।
नर्थकोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुङ्गो गर्ने भएका छन् । नेता भट्टराईका अनुसार अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन् ।
देशभित्रको सङ्घीय संसद्मा रहेका सातवटा राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा निम्ता दिइएको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई यही मङ्सिर ३ गते एमाले नेता सुवास नेम्वाङसहितको टोलीले निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य दलका अध्यक्षलाई पनि निमन्त्रणा दिइएको छ । “हामीले देशभित्रका कूटनीतिक नियोगका प्रमुखहरूलाई पनि निम्ता गरेका छौँ, कतिपय प्रमुखहरूले आउने भनेर हामीलाई खबर पनि गर्नुभएको छ”, भट्टराईले भन्नुभयो ।
अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मङ्सिर ९ गतेसम्म काठमाडौं आइपुग्न भनिएको र उहाँहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लगिनेछ । चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उहाँहरूलाई सौराहाको होटलमा बस्ने व्यवस्था गरिएको छ । उहाँहरुको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्नुहुने छ । त्यससँगै पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही सांस्कृतिक कार्यक्रमको आयोजना तथा उहाँहरुलाई सौराहामा दृष्यावलोकन र जङ्गल सफारीको पनि योजना बनाइरहेको जनाइएको छ ।
काठमाडौँमा पनि उहाँहरुको सम्मानमा भेटघाटको आयोजना गरिने जनाइएको छ । उहाँहरुलाई विधान महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनको साराशंलाई अङ्ग्रेजी अनुवाद गरेर प्रकाशन गरिनेछ । विधान महाधिवेशन कसरी सम्पन्न भयो भन्ने जानकारीका लागि जानकारीमूलक ‘न्यू–एरा न्यू बुलेटिन’ प्रकाशन गरेर पनि उहाँहरुलाई वितरण गरिनेछ ।
एमाले निर्वाचन लड्न सक्षम रहेको दाबी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो ।
“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई देख्न नसक्नेहरुले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने दाबी गर्नुभयो ।
“सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्, तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औंला नसमातेर हिँड्न सक्दैनन्”, ओलीको भनाइ थियो ।
सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वतको क्यालेण्डरसमेत सार्वजनिक गर्नुभयो ।
काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुऱ्याइरहेको दाबी गर्दै साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया