यसरी विवादित बन्यो कांग्रेस मोरङ-६ को निर्वाचन

यसरी विवादित बन्यो कांग्रेस मोरङ-६ को निर्वाचन



नेपाली काङ्ग्रेसका नेताहरू रमेशजंग रायमाझी र डिला संग्रौलाका कारण नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को चुनाव विवादित बन्न पुगेको छ ।

यस क्षेत्रमा आफ्नो उपस्थिति कमजोर भएपछि यी दुवैले मिलेर सोमबार तय गरिएको चुनाव मंगलबार सारेका थिए भने आज (मंगलबार) १२ बजे मनोनयन दर्ता गराइ चुनाव पनि गराइहाल्ने रणनीतिमा उनीहरू लागेको चुनावमा खटिएका एक प्रतिनिधिले बताए ।

आफ्ना ४–५ जना प्रतिनिधिलाई प्यानलबाट उठाएर जिताउने र अरुको हकमा क्रस भोट गराउने रणनीतिमा रायमाझी र सङ्ग्रौला रहेको ती प्रतिनिधिको आरोप छ ।

केन्द्रमा अर्को समीकरण भए पनि यस क्षेत्रमा विजय गच्छदार र शेखर कोइरालाको गठबन्धन बनेको श्रोतले बतायो । मोरङमा यो क्षेत्रको चुनाव सबैभन्दा रोचक मानिन्छ ।

विजय गच्छदारका छोरा सुवास पनि थारु कोटाबाट चुनाव लडिरहेका छन् । केन्द्रिय अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका शेखर कोइरालाको खेमाभन्दा बाहिरका मधु तिवारीले ‘ख’ तर्फ चुनाव जितेपछि उनी पनि अत्तालिएको स्थानीय भोटरको दाबी छ ।

‘नोमिनेशनको दिन वार्ता गर्ने भनेर उहाँहरू आउनुभएको थियो । यसले नै उहाँहरूको नियत प्रष्ट पार्छ । हामी बाँडिएका छैनौँ, एक ढिक्का भएर मत हाल्छौँ’- ती प्रतिनिधिले बताए ।