परराष्ट्रमन्त्री खड्का उपसभापतिमा उम्मेदवारी दिँदै

परराष्ट्रमन्त्री खड्का उपसभापतिमा उम्मेदवारी दिँदै



नेपाली काङ्ग्रेसका नेता एवम् परराष्ट्र मन्त्री डा. नारायण खड्काले पार्टीको चौधौँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिनुहुने भएको छ । खड्काले निकटवर्तीहरूलाई र सभापति शेरबहादुर देउवालाई आफ्नो उम्मेदवारी बारे जानकारी गराउनुभएको बुझिएको छ ।

काङ्ग्रेसमा शालिन र बौद्धिक नेताका रुपमा चिनिनुहुने उहाँ उदयपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आउनुभएको छ। यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएका उहाँले परराष्ट्र मन्त्रालयको कार्यभार लिनुभएपछि नेपालको कुटनीतिक सम्बन्धमा निखार आउन थालेको महसूस गरिएको छ।

उपसभापति पदमा नेताहरू डा. रामशरण महत, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, विजयकुमार गच्छदारको पनि दाबी रहने बुझिएको छ ।

त्यसैगरी महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिनुहुने भएको छ । काङ्ग्रेसमा लामो योगदान पुर्‍याउनु हुने कार्की सुनसरीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । महामन्त्रीमा एनपी साउद, डा. मिनेन्द्र रिजाल, डा. प्रकाश शरण महत, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, बालकृष्ण खाण र कान्छो पुस्ताका गगन थापाले समेत उम्मेदवारी दिनुहुने बुझिएको छ ।

डा. शशांक कोइराला, डा. शेखर कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई सभापतिकै उम्मेदवारका रुपमा हेरिन्छ । उहाँहरू मध्य प्रकाशमानले सभापति पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने सिटौलाले शेरबहादुर देउवालाई समर्थन दिने सङ्केत दिनुभएको छ।