प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने, प्रचण्डको टुङ्गो छैन

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने, प्रचण्डको टुङ्गो छैन


file photo


प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन पुगी महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्ने चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिएका छन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर उनी दिउँसो १ः१५ बजे राजधानी फर्किने कार्यक्रम तय भएको बताइएको छ ।

बताइएअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा अतिथिका रुपमा सहभागी हुँदैछन् । अन्य राजनीतिक दलका नेतासमेत पुग्ने कार्यक्रम रहेको जनाइएको छ । तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमाले महाधिवेशनमा सहभागिता जनाउने या नजनाउने अझै टुङ्गो लागि सकेको छैन ।

जानकारीअनुसार महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा बिहीबारदिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।

महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने सो पार्टीले जनाएको छ ।