तस्बिर : रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उर्जाशील नेतृत्व, गतिशील र वैकल्पिक शक्ति निर्माणका लागि भन्ने नारासहित आयोजना गरिएको उक्त घोषणा सभामा उनले पार्टीलाई कहिल्यै विभाजन हुन नदिने संकल्पका साथ उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै थापाले भने, ‘पार्टीका केही काम बाँकी छाडेर पलायन हुने अनुमति आफूलाई नभएकाले उम्मेदवारी दिन लागेको हुँ, एकता महाधिवेशनलाई नाम मात्रका लागि होइन, मन, बचन र कर्मले पनि एकताबद्ध तुल्याउनुपर्छ, पार्टीमा एकता, सद्भावना र सहमतिको सन्देश दिनपर्छ ।’
उनले अगाडि भने, ‘नेपालको भूराजनीतिक धरातलका आधारमा राजतन्त्रसहितको प्रजातन्त्र र सनातन हिन्दुअधिराज्यका मुद्दालाई प्रखररुपमा अघि बढाइनेछ, त्यसको आधार तयार भएपछि पार्टीको जिम्मेवारीबाट विश्राम लिनेछु । राप्रपाको एकीकृत अध्यक्षका रुपमा पार्टीलाई एक पटक जुरुक्क उठाउन चाहन्छु । आगामी चुनावमा मुलुकको तेस्रो ठूलो शक्तिका रुपमा स्थापित गर्न हरसम्भव प्रयत्न गर्नेछु ।’
विसं २०६२/६३ को जनआन्दोलनपछि भएको संविधानसभामा २५ सदस्य पठाएर संविधान निर्माणमा योगदान पुऱ्याएको राप्रपाको हाल प्रतिनिधिसभामा राजेन्द्र लिङदेनले प्रतिनिधित्व गर्दै आएका छन् ।
मुलुकका ७५३ स्थानीय तहमध्ये एक नगरपालिकासहित ४ पालिकामा राप्रपाले नेतृत्व गरिरहेको छ । विसं २०७६ फागुन २९ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकिकरण भएपछि एकता महाधिवेशन हुन लागेको हो ।
प्रतिक्रिया