जनसम्पर्क समिति डेनमार्कको नेतृत्वमाथि मनोमानीको आरोप

जनसम्पर्क समिति डेनमार्कको नेतृत्वमाथि मनोमानीको आरोप



सभापतिको ज्यादतिविरुद्ध उपसभापतिद्वारा केन्द्रमा उजुरी

  • विशेष प्रतिनिधि, युरोप

युरोप महाद्विपमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले त्राहीमाम बनाउँदै छ भने जाडो पनि बढिरहेको छ । अर्कोतर्फ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तिथि नजिक आउँदै गर्दा विदेशस्थित पार्टीका भातृसंगठनहरूमा पनि अधिवेशनको सरगर्मी चढिरहेको देखिन्छ । विभिन्न देशमा अधिवेशनका लागि केन्द्रको प्रतिनिधि तोकिएका चिट्ठीले संजाल रंगिएको देखिन्छ भने उत्तरी युरोपको देश डेनमार्कमा अधिवेशन विवादले चर्को रुप लिएको छ । वर्तमान सभापति वीरेन्द्रसिंह कार्कीका कारण विवाद चुलिएको आरोप लगाइएको छ ।

सन् २००५ मा स्थापना गरिएको पुरानो जनसम्पर्क समितिमध्येको एक डेनमार्कमा वर्तमान सभापति वीरेन्द्रसिंह कार्की निर्वाचित भएर आएपश्चात संगठनलाई एकलौटी रूपले संचालन गर्ने तथा पारदर्शिताको सवालमा एकदमै अपारदर्शी बनेको आरोप जनसम्पर्क समितिका पूर्व सभापतिहरूले लगाएका छन् ।

जससका पूर्व सभापतिहरूमा संस्थापक सभापति नवीन पौडेल, रामचन्द्र पाठक, त्रिलोचन सापकोटा र यामलाल सुवेदीले वर्तमान सभापति कार्कीलाई विधिवत मान्यताबाट संस्था संचालन गर्न आग्रह गर्दा उल्टै गुटबन्दी गर्ने, आफूलाई मन लागेका व्यक्तिहरूलाई मात्र क्रियाशील सदस्यता सिफारिस गर्ने, संगठनका पक्षमा कुनै काम नगर्ने तर केन्द्रिय नेताहरूसँग निकट भएको देखाएर आफू शक्तिमा रहेको घमण्ड गर्ने गरेको पूर्व सभापतिहरूका साथै जनसम्पर्क समितिका वर्तमान पदाधिकारीहरूको आरोप छ ।

क्रियाशील सदस्यता लिन क्रम पुगेका करिव एक हजार डेनमार्कबासी कांग्रेसप्रति आस्थावान व्यक्तिहरूमा करिब पाँच सय व्यक्तिको क्रियाशील सदस्यता नवीकरण गर्दा १३औँ महाधिवेशनको पूर्व क्रियाशील सदस्य रहेका तीन सयभन्दा बढी क्रियाशील सदस्यहरूलाई नवीकरण नगरी वीरेन्द्रसिंह कार्कीको हठ र व्यक्तिगत इगोको कारण सदस्यताबाट वञ्चित तुल्याइएकोले कारण केन्द्रमा उजुरी गरिएको संस्थाका पदाधिकारीहरूले जनाएका छन् ।

डेनमार्क जससको विवादका विषयमा संस्थापक सभापतिसमेत रहेका व्यक्तित्व नवीन पौडेलसँग घटना र विचारले प्रतिक्रिया माग्दा पौडेलले यस विषयलाई पुष्टि गर्दै भने- ‘वर्तमान सभापतिले जिम्मेवारी सम्हालेपश्चात डेनमार्कमा सम्पन्न भएको नेपाली जनसम्पर्क समितिहरूको विश्व सम्मेलनका क्रममा केन्द्रिय नेताहरूसँग विकास भएको सम्बन्ध र सामीप्यताको दुरुपयोग गर्दै ब्यक्तिगत स्वार्थको खेलमा रम्नुबाहेक अरु खास केही गर्न सकेको देखिँदैन । निर्वाचित भएर आएको पार्टीको संगठन, यसले लिएको विचारलगायत कुनै विषयमा सम्पूर्ण कार्यकालमा एक अन्तरक्रिया समेत राखिएन । पार्टीको संस्थापक नेताहरूको सम्झनामा कुनै कार्यक्रम गरिएन, संगठन केका लागि स्थापना गरिएको भन्ने नै थाहा नभएको व्यक्तिलाई हामीले नेता बनाइदिँदा आज संगठनको अवस्था नाजुक हुन पुगेको जससमा आवद अधिकांश डेनमार्कबासी नेपालीले महसूस गरिरहेका छौँ । आफ्ना एसम्यानहरूको समूहमा मात्र रहन रुचाउने वर्तमान सभापतिका कारण जसस सबै कांग्रेसमा आस्था राख्नेहरूको बन्न सकेको छैन । संगठनमा जे नहुनु पर्दथ्यो त्यही भएकोमा संस्थापक सभापति भएको नाताले पनि मलाई चिन्ता लाग्छ ।’

वर्तमान उपसभापति रहेका निलविक्रम थापा पनि संस्थापक सभापति नवीन पौडेलको भनाइमा सहमति राख्दछन । उनले भने- ‘संगठनको स्थापना केही उद्देश्यका लागि गरिएको हुन्छ, यहाँ त संगठनको मर्मविपरीत काम र क्रियाकलाप भइरहेको कारण चुप लागेर बस्न सकिने अवस्था छैन । बोल्न र केन्द्रमा जानकारी गराउनु आवश्यक भएको कारण केन्द्रीय महामन्त्रीलाई पत्र लेख्न बाध्य भयौँ । यदि सभापति जस्तो व्यक्तिले संगठनलाई विधिवत संचालन गर्ने सामर्थ्य राखेको भए आज यो अवस्था आउने थिएन । जससको सभापति जस्तो व्यक्तिबाट यतिसम्म गरियो कि संगठनबाट निर्णय गरेर गैरआवासीय नेपाली संघको निर्वाचनमा कुनै व्यक्तिलाई उठाए ता पनि आफैले उठाएको व्यक्तिको विरुद्ध मत मागेको पुष्टि हुँदा वीरेन्द्रसिंह कार्की सांगठनिक दृष्टिकोणबाट असफल व्यक्ति भन्ने प्रष्ट भएको छ । आज उनले जे गरिरहेका छन् यसले नेपाली कांग्रेसभित्र वैमनस्यता उत्पन्न गराउँदै लैजाने र भविष्यमा संगठनको औचित्यमाथि नै प्रश्न उठ्ने देखिन्छ ।’

यसैगरी पूर्वसभापति रामचन्द्र पाठक, त्रिलोचन सापकोटा र यामलाल सुवेदीको राय पनि निलविक्रम थापासँग मिल्दोजुल्दो रहेको छ । पूर्व सभापतिहरू भन्छन्- ‘कांग्रेस स्थापना एक विचारको आधारमा भयो, यसका आफ्ना स्थापित मान्यताहरू छन्, ती सबै मान्यतालाई कुल्चेर एकल ढंगले अगाडि बढ्नु हाम्रो लागि किमार्थ स्वीकार्य विषय होइन । ८ दशक लामो प्रजातान्त्रिक अभ्यास गरेको पार्टी, त्यसमाथि यसको विदेशस्थित भातृसंगठनमा एकलौटी मनोमानी गरिनु सुहाउने विषय होइन । सभापतिलाई हामीले विभिन्न समयमा सच्चिएर आउन आग्रह गरेका छौँ । यदि सच्चिने अवस्था आएन भने स्वयम् उहाँको लागि राम्रो हुँदैन र उहाँको व्यक्तिगत अभीष्ट एवम् गलत ‘इगो’लाई हामीले पद्दतिअनुरुप सत्मार्गमा ल्याएरै छोड्ने छौँ ।’

विवादको विषयमा वीरेन्द्रसिंह कार्कीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।