केपीको महाविजय !

केपीको महाविजय !



नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार केपी शर्मा ओलीको महाविजय भएको छ । सर्वसम्मत अध्यक्ष बन्ने/बनाउने प्रयासमा भीम रावलले चुनौती दिएपछि ओली चुनावी मैदानमा उत्रन बाध्य हुनुभएको थियो । कुल महाधिवेशन प्रतिनिधिमध्ये ओलीले १,८४० र प्रतिद्वन्द्वी भीम रावलले २२४ मत प्राप्त गर्नुभएको छ । ओलीको यो विजयलाई महाविजयको रूपमा लिइएको छ ।

नवौँ महाधिवेशनमा तत्कालिक एमाले नेता माधवकुमार नेपालसँग प्रतिष्पर्धा गर्दा ओली पचासभन्दा कम मतान्तरले विजयी बन्नुभएको थियो । तर यसपटक करिब १६०० मतान्तरले उहाँ विजयी बन्नुभएको छ । तर माधव नेपालले एमाले परित्याग नगरेर ओलीसँग चुनावी प्रतिष्पर्धा गर्नुभएको भए रावलको भन्दा चार गुणा बढी मत प्राप्त हुन सक्थ्यो भन्ने अनुमान र विश्लेषण भएको पाइएको छ । दशौँ महाधिवेशनले ओलीलाई एकछत्र नेताको रूपमा स्थापित गरिदिएको छ । ओली मात्र नभइ सिङ्गै केन्द्रीय समितिमा उहाँले इच्छाका मानिस मात्र विजयी बनेकोले ओलीलाई पार्टी काममा सहजता हुने निश्चित भएको छ । सङ्घीयता, जातिवाद र धर्मनिरपेक्षताप्रति भिन्न दृष्टिकोण राख्नुहुने केपी शर्मा ओलीले प्राप्त गर्नुभएको यो सुवर्ण अवसरलाई कसरी सदुपयोग गर्नुहुने हो, सो भने प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।

दशौँ महाधिवेशनबाट विजयी पदाधिकारीमध्ये सर्वाधिक मत अष्टलक्ष्मी शाक्यलाई प्राप्त भएको छ । उपाध्यक्षमा विजयी शाक्यले १९८० मत प्राप्त गर्नुभएको छ भने अन्य उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई जम्मा ७२६ मत प्राप्त भएको छ ।

यस्तै, सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गर्नुभयो भने योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्माले १८०६, पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७ र रघुवीर महासेठले १५०३ मत हासिल गरी सचिव पदमा निर्वाचित हुनुभयो । केपी ओलीको सुझाव अटेर गर्दै सचिवमा उम्मेदवारी दिनुभएका भीम आचार्यलाई ७८९ सय र टंक कार्कीलाई ५६० मत प्राप्त भयो । ज्ञातव्य छ, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भएका छन् ।