राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् ।
यसलगत्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने कार्यतालिका रहेको बताइएको छ ।
सो पार्टीका नेता भुवन पाठकका अनुसार महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने छ भने सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ । बन्दसत्रमा देशभरबाट ४७०० प्रतिनिधि छनोट भएका छन् ।
महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनेछ । उपाध्यक्ष र महामन्त्रीमा कम्तिमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ । यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा शुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया