राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, पराजित थापाले लगाए निर्मल निवासमाथि आरोप

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, पराजित थापाले लगाए निर्मल निवासमाथि आरोप



महिला महामन्त्रीमा रेखा थापा कुन्ती शाहीसँग पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । एकता महाधिवेशनका क्रममा नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङदेन र थापाबीच कडा प्रतिस्पर्धा भए पनि अन्ततः लिङदेन विजयी बनेका हुन् । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकोमा लिङ्देनले १८१७ र थापाले १६१८ मत हासिल गरेका र ४३१ मत भने बदर भएको बताइएको छ ।

यस्तै, महामन्त्रीहरुमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राणा लिङदेन समूहका हुन् भने थापा र शाही कमल थापा समूहबाट निर्वाचनमा होमिएका थिए । कुन्ती शाहीलाई रेखा थापाले चुनौती दिएकी थिइन्, तर अन्ततः रेखा पराजित हुन पुगिन् । शाहीले २,००५ मत ल्याइन् भने थापालाई १६४० मत प्राप्त भएको जनाइएको छ ।

निर्वाचनबाट पार्टीअध्यक्षमा पराजित भएपछि कमल थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिएका छन् । पराजयबाट रन्थनिएका थापाले आफ्नो हारका लागि निर्मल निवासमाथि दोष थोपर्दै ब्यंग्यात्मक शैलीमा राजा ज्ञानेन्द्रलाई समेत बधाई दिएका छन् ।