राप्रपाले निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिने

राप्रपाले निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिने



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरेका छन् ।

महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको भन्दै चौतर्फी प्रशंसा गरिएको छ ।

यसअघि लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । सो कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन् ।

pict:rss

महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्तिकुमारी शाही निर्वाचित भएका छन् । पार्टीमा १९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भए पनि १४९ पदका लागि निर्वाचन भएको थियो । अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् । विधानतः चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताएका छन् । उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उनको भनाइ छ ।