कांग्रेस बागमती प्रदेशका सभापतिमा बानियाँ

कांग्रेस बागमती प्रदेशका सभापतिमा बानियाँ



नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट बानियाँले एक हजार ८५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिएका छन् । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीलाई ८७७ मत प्राप्त भएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए ।

यस्तै, कांग्रेसको प्रदेश नं १ मा भएको पहिलो अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट थापाले ८४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेलाई ८४० मत प्राप्त भयो ।

सो प्रदेशमा उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका मोरङ कांग्रेसले जनाएको छ ।

यसैगरी १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन सभापतिमा विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै उनी विजयी भएका हुन् । पाल्पाका पुनलाई ८५२ मत हासिल भएको छ भने उनका प्रतिद्वन्द्वी शाहलाई ७६७ मत प्राप्त भएको छ ।

उता सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । उनले पौडेल पक्षका नारायणदत्त मिश्रलाई ४ सय बढी मतान्तरले पराजित गरेका हुन् । बलायरले ६८८ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी मिश्रले जम्मा २८० मत प्राप्त गरे।

यसैगरी, नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट सभापति देउवापक्षीय शाहीले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।

यस्तै, कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा शर्मा ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।शर्माका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेका थिए ।