खोइरोखनाइ विरोध र अन्धभक्ति पनि मुलुकको एउटा रोग !

खोइरोखनाइ विरोध र अन्धभक्ति पनि मुलुकको एउटा रोग !


सरकार अस्थिर भयो भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख खोजिँदै छ । सोच्नुपर्ने कुरा के छ भने के प्रत्यक्ष कार्यकारी प्रमुख कुनै विस्तारवादी मुलुकको प्रभावमा आउन सक्दैन र ? स्वेच्छाचारी हुन सक्दैन ? ओली सरकार स्वेच्छाचारी भयो भनेर हटाउन मुलुकमा जत्रो अभियान भयो त्यो प्रत्यक्ष निर्वाचितमा सम्भव छ ?

  • स्वयम्भूनाथ कार्की

राजा महेन्द्रले नेपालीलाई सही अर्थमा जनता बनाउन चाहेका थिए । त्यसैले उनले लागु गरेको व्यवस्थामा ‘गुण र दोषको आधारमा समर्थन वा विरोध’ प्रमुख विशेषता थियो । जनता निर्भिक बनुन् भन्ने सोचले उनी ‘नबिराउनु नडराउनु’ भन्थे । आफ्नो मनमा लागेको कुरा निर्धक्क अभिव्यक्त होस् भनेर भनेका थिए- ‘आफ्नो ब्रह्मले देखेको कुरा व्यक्त गरिदिए त्यो मुलुकको ठूलो सेवा हुनेछ ।’ उनी आह्वान गर्दथे- ‘तिम्रै हो नागरिक हक, लेउ काँधमा काँधै गरी ।’

आजकल आफ्नो बुद्धि विवेक प्रयोग गर्न कन्जुस्याइँ गरेर कसैको ‘होहोअरे’मा लाग्नेहरूको बाहुल्यता छ । राजा महेन्द्रकोे निधनपछिका आधा शताब्दिपछि पनि नेपाली जनता उनले बनाउन खोजेको सार्वभौम जनता बन्न तैयार छैनन् । कुनै पनि क्षेत्रमा चलेको हल्लाको भरमा दौडने स्वभाव नेपाली जनता छोड्न चाहँदैनन् ! समयभन्दा धेरै पहिले नै विवेकशील जनता बनाउन खोजेर उनले गल्ती त गरेका थिएनन् ?

ज्योति मगरको तिघ्रा र स्तनको आंशिक प्रर्दशनले नेपाली सभ्यता भत्केको देख्नेहरू सन्नी लियोनीको स्वागतमा दौडन्छन्, खै विवेकको प्रयोग ? कुनै दुई दल जब जोडिने प्रक्रियामा लाग्छन्, दुवैका सदस्यहरू एकअर्काको प्रशंसामा युद्ध स्तरमा खटिन्छन् । जब त्यो प्रयत्न असफल हुन्छ, तिनै मुखहरू एकअर्काको उछित्तो काढ्न ज्यान फालेर लाग्छन् । खै आफ्नो बुद्धि र विवेको प्रयोग ? अर्काले जे अह्रायो त्यही गर्न त जनावरले पनि सजिलै मान्दैन भने, मान्छे त सर्वश्रेष्ठ प्राणी हो । फेरि यो दासत्व किन स्विकार गर्दछ ? एउटा सांसदको खोइरो खनेर नथाक्ने मुख जब त्यही सांसदको सामुन्ने पर्दछ, ‘धनुष्टङ्कार नमस्कार’मा झुक्छ, किन ? त्यो सांसदले आफ्नो बराजुको सम्पत्ति जस्तै मनपरी खर्च गर्न पाउने जनताको पैसाबाट बनेको सांसद कोषबाट केही पाउन हैन र ?

उबेला शिक्षक, कर्मचारी आदिले सक्रिय राजनीति गर्न हुँदैन भनियो । त्यसलाई अन्याय ठानेर तीव्र विरोध गर्नेहरू आज त्यही कुरा सही मान्दैछन् । उबेला संचारमाध्यमहरू मर्यादित र जिम्मेवार हुनु पर्दछ भनियो । यसलाई वैचारिक तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार मानियो । वर्तमानमा सरकार त्यही मर्यादित र जिम्मेवार बनाउने कानुन लागु गर्दैछ । पत्रकारहरूको योग्यताको पुनर्परीक्षण गर्ने तैयारीमा छ । स्थानीय निर्वाचित संरचनाहरूलाई पञ्चायतले स्थानीय सरकार बनायो, सकेसम्म अधिकार र श्रोतको विकेन्द्रीकरणको शुरुवात गऱ्यो । हिजो त्यसको विरोध गर्ने मुखहरू आज त्यसैलाई सङ्घीयताको महान उपलब्धि भन्दैछन् । यी कुरा उबेला पनि सही थिए, अहिले पनि सही छन् ।

कुनै एक व्यक्ति वा केही व्यक्तिको समुह मुलुकमा हाबी हुँदा के हुन सक्छ भन्ने अनुभवलाई ध्यान नदिनेहरूले ‘लेण्डुप दोर्जे’लाई गाली गर्ने अधिकार स्वतः गुमाउँछन् ।

पञ्चायतले चार हजारको हाराहारी स्थानीय संरचना र चालिस हजारको हाराहारी उपसंरचना थेग्न सक्यो । तर वर्तमानमा मुलुकभरी पुगनपुग ८ सय पनि थेग्न हम्मेहम्मे परेको छ जनतालाई । जनताको प्रतिनिधि जनताकै बीचबाट आउनुपर्ने हो । तर नचिनेको र बाहिरको व्यक्तिलाई पनि चुन्नैपर्ने बाध्यता जनताको सम्मान हो कि अपमान, खै सोचेको ? गाउँका सार्वजनिक कुराहरूको सञ्चालन गर्न त्यही गाउँकाले चुनेकाहरूकोे जिम्मा ठिक कि दलहरूले टीका लगाएर ‘बक्सेका’हरूको जिम्मा ठिक ? यो कुराको जवाफ वर्तमानको स्थानीय श्रोतमा स्थानीयको अधिकार भन्ने मागको परिप्रेक्ष्यमा खोज्नु पर्दछ । नत्र निम रोपेर आँपको फल खोजेजस्तो हुन्छ ।

सरकार अस्थिर भयो भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख खोजिँदै छ । सोच्नुपर्ने कुरा के छ भने के प्रत्यक्ष कार्यकारी प्रमुख कुनै विस्तारवादी मुलुकको प्रभावमा आउन सक्दैन र ? स्वेच्छाचारी हुन सक्दैन ? ओली सरकार स्वेच्छाचारी भयो भनेर हटाउन मुलुकमा जत्रो अभियान भयो त्यो प्रत्यक्ष निर्वाचितमा सम्भव छ ? यदि त्यस्तो भयो भने त्यसलाई नियन्त्रण कसले गर्दछ ? कुनै एक व्यक्ति वा केही व्यक्तिको समुह मुलुकमा हाबी हुँदा के हुन सक्छ भन्ने अनुभवलाई ध्यान नदिनेहरूले ‘लेण्डुप दोर्जे’लाई गाली गर्ने अधिकार स्वतः गुमाउँछन् । कुनै एक तत्वको आधारमा मात्र निस्केको ‘होहोअरे’मा सामेल हुँदा त्यो प्रत्युत्पादक हुन सक्छ । ‘जता भत्क्यो त्यता दैलो’ भन्नुभन्दा आफ्नो बुद्धि र विवेक प्रगोग गर्नु श्रेयष्कर हुन्छ ।

हिजो बन्द, हडताल, तोडफोड आदिको सहारामा नेपाल अस्थिर हुने गरेर निरन्तर व्यवस्था परिवर्तन गर्न लागिपर्नेहरू आज त्यसैको विरोधमा उत्रिएका छन् । यस्ता कार्य हिजो पनि ठिक थिएनन्, आज पनि छैनन र भोलि पनि हुने छैनन् । तर त्यसको निमित्त हिजो त्यो गरेर आफूले गल्ती गरेको पश्चाताप आवश्यक हुन्छ र मात्र आज विरोध गर्न पाइन्छ । आज आफूलाई मन परेको कुराको अरुले विरोध गर्न पाइन्न भन्ने हो भने समयचक्रले आज तिनै बन्द-विरोध गर्नेहरू भोलि सडकमा टायर बाल्न उद्यत् हुने छन् । हो, रत्नाकर बाल्मिकी हुन सक्छन् तर बाल्मिकी भइसकेपछि उनमा फेरि रत्नाकरको छाया देखिएन । रत्नाकरको मुखमा बाल्मिकीको मुकुण्डो लगाएर स्वाङ गर्नेहरूलाई चिन्ने बुद्धि र विवेक सबैमा छ, तर खै त्यसको प्रयोग ?