कांग्रेसको पौडेल समूहले बुधबार सभापतिको उम्मेदवार तय गर्ने

कांग्रेसको पौडेल समूहले बुधबार सभापतिको उम्मेदवार तय गर्ने


शशांकले छोडे दाबी, शेखर बैठकमा उपस्थित नहुने !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एक मात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ ।

मंगलबार सो समूहका नेताको पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एक मात्र उम्मेदवार टुङ्याउन नसकेपछि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने निष्कर्ष निकालेको हो । बुधबारसम्म एक मात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिएका छन् ।

बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गरेका थिए। नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेका बताइएको छ ।

दिउँसो १ देखि साँझ ७ बजेसम्म बसेको बैठकमा सभापतिका चारै जना उम्मेदवार, कोषाध्यक्ष सीतादेवी यादव, नेता डा. रामशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, डा. चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ जीवन परियारलगायत सहभागी रहेका थिए ।

यसैबीच कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् । सभापतिमा उम्मेदवारी दिने अडान प्रस्तुत गर्दै आएका शशांकले अब सभापतिमा आफ्नो दाबी नरहेको मंगलबार खुलासा गरेका हुन् ।

यस्तै, सभापति चयनका लागि बुधबार बिहान पुनः बस्ने भनिएको बैठकमा आफू सरिक नहुने जानकारी पार्टीसभापतिका आकांक्षी डा. शेखर कोइरालाले गराएका छन् । बैठकमा शेखर उपस्थित नभएमा सहमतिमा एक मात्र उम्मेदवार तय गर्ने पौडेल समूहको योजना बुधबार पनि अधुरै रहन सक्ने ठानिएको छ ।