हिन्दूराष्ट्रको एजेण्डासहित मैदानमा उत्रने तयारी

हिन्दूराष्ट्रको एजेण्डासहित मैदानमा उत्रने तयारी



नेपाली काङ्ग्रेसका जुझारू युवा नेता एवम् पूर्वमन्त्री शङ्कर भण्डारीले हिन्दूराष्ट्र स्थापनालाई मूल एजेण्डा बनाएर आफ्नो उम्मेदवारी दिनुहुनेभएको छ । धेरै अघिदेखि नै हिन्दूराष्ट्रका पक्षमा काङ्ग्रेसलाई उभ्याउन सङ्घर्ष गर्दै आउनुभएका भण्डारीले पार्टी केन्द्रीय समितिदेखि महासमितिका बैठकसम्म हिन्दूराष्ट्रको मुद्दा उठाउनुभएको थियो । चौधौँ महाधिवेशनमा यसै मुद्दालाई लिएर उहाँ मैदानमा उत्रिन लाग्नुभएको छ ।

प्राप्त जानकारीअनुसार ‘टीममा परेर’ पदाधिकारीमध्ये कुनैमा उम्मेदवारी दिनुपर्ने भएमा पनि उहाँले हिन्दूराष्ट्रको मुद्दा जोडदार ढङ्गले उठाउनुहुनेछ । कदाचित पदाधिकारी (सम्भवतः सह-महामन्त्री) को हैसियतसहित टीममा नपारिएको अवस्थामा शङ्करले आफ्नो एजेण्डासहित सभापति पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको बुझिएको छ । यसरी उम्मेदवारी दिँदा हिन्दूराष्ट्रको एजेण्डा थप मुखरित हुने विश्वास शङ्कर भण्डारीले गर्नुभएको बताइन्छ ।

नेपाली काङ्ग्रेसका नेता एवम् अर्थविद डा. रामशरण महतले केही महत्वपूर्ण आर्थिक-राजनीतिक एजेण्डासहित सभापति या उपसभापति पदमा उम्मेदवारी दिनुहुने भएको छ । त्यस्तै, परराष्ट्रमन्त्री एवम् नेता डा. नारायण खड्कामाथि पनि उहाँका हितैषी एवम् समर्थकहरूबाट उपसभापति पदमा उम्मेदवारी दिन दबाब परिरहेको छ । महामन्त्री पूर्णबहादुर खड्काले पनि यस पटक उपसभापति पदमै उम्मेदवारी दिनुहुने बुझिएको छ । सञ्चारमन्त्री एवम् नेता ज्ञानेन्द्रबहादुर कार्की महामन्त्री या उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने तयारीमा रहनुभएको छ । त्यस्तै, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, एनपी सावद, चन्द्र भण्डारी र गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा भएको बुझिएको छ ।