कर्मचारीको सेवा-सुविधाको दुई लाख विभागीय प्रमुख थापाले हत्याएपछि…

कर्मचारीको सेवा-सुविधाको दुई लाख विभागीय प्रमुख थापाले हत्याएपछि…


  • श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशासकिय अधिकृत सनतबम मल्लले रकम फिर्ताको पहल गरिदिन राष्ट्रिय खेलकुद परिषदमा निवेदन दर्ता गराएका छन् । मल्लले २०७८ साल मंसिर २१ गते रकम फिर्ताका लागि सदस्यसचिवलाई सम्बोधन गर्दै राखेपमा निवेदन दर्ता गराएका हुन् ।

राखेपका पूर्व सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सञ्चालन हुनुभन्दा दुई महिनाअघि मल्ललाई भण्डार शाखाबाट साग सचिवालयमा तानेका थिए । राखेपले साग सचिवालयको कामकाजको लागि तानिएको भनिए पनि सचिवालयले उनलाई बस्ने कुर्सीसमेत उपलब्ध नगराएको मल्लले निवेदनमा उल्लेख गरेका छन् ।

यसका वाबजुद आफूले विना काम डेढ वर्ष हाजिर गरेको भरमै तलब थापेको र पछि मनले नमान्दा २०७७ साल माघ १९ गते मल्लले आफ्नो पदबाट राजीनामा दिएका थिए । यसपछि मल्लको राजीनामा राखेपले तुरुन्तै स्वीकृत गरेको थियो । राखेपले राजीनामा स्वीकृत गरेलगत्तै मल्लले आफ्नो सेवा सुविधा उपलब्ध गराइदिन राखेपमा निवेदन दिएका थिए ।

मल्लको सेवा-सुविधाको फाइल तत्कालिन प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले टेबुलमा पुगेपछि थापाले पेश्की, बेरुजीको विभिन्न बहाना बनाउँदै फाइल रोकेर रकमको लागि बार्गेनिङ गरेको मल्लले निवेदनमा खुलासा गरेका छन् ।

रकमको बार्गेनिङ गर्दै जाँदा दुई लाखमा कुरा मिलेको र २०७७ साल चैत्र ३१ गते थापाले वर्ल्ड ट्रेड सेन्टरमा बोलाएर आफूलाई दुई लाखको चेक काट्न लगाएको र थापाले चेकमा आफ्नो नाम नभइ राज दवाडी भन्ने ब्यक्तिको नाममा काट्न लगाएको मल्लले निवेदनमा उल्लेख गरेका छन् । साथै उक्त दुई लाखको चेक थापा स्वयम्ले राखेको मल्लले जानकारी गराएका छन् ।

२०७७ साल माघ १९ गते आफ्नो पदबाट राजीनामा दिएका मल्लले सेवा सुविधाको रकम २०७८ जेठ १० गते कृषि विकास बैङ्कमा रहेको उनको खाता नम्बर ०२१०६००२०३ रकम जम्मा भएको थियो । जेठ १० गते वैङ्कमा रकम जम्मा भएको आधा घण्टापछि नै थापाले उक्त दुई लाख रकमको चेक साटेका थिए । १५७३७११८ चेक नम्बर भएको उक्त चेकमा राज दवाडी नाम उल्लेख भएको समेत मल्लले राखेपमा जानकारी गराएका छन् । कृिष विकास बैंकको स्टेटमेन्टमा पनि यो कुरा प्रस्टरूपमा देख्न सकिन्छ ।

त्यस्तै कर्मचारीको सेवा-सुविधाको रकमबाट प्राप्त रकम विभागीय प्रमुख थापाले प्रत्यक्ष रूपमा नलिई आफ्नो नजिकको व्यक्ति राज दवाडीको नाममार्फत चेक लिइ रकम निकासा गर्दै आएको यतिबेला मल्लले राखेपमा प्रस्तुत गरेको सप्रमाणसहितको निवेदनले प्रमाणित गरेको छ । यस्तै, परिषदमा यस्तो आर्थिक अनियमिता गर्न थापाले एक च्यानल नै बनाएको बुझिएको छ । थापाको सहयोगीको भूमिकामा खेलकुद परिषदका केहि शाखाका प्रमुखहरुले संलग्नता देखिएको छ । जस्को भण्डाफोर छिट्टै हुने मल्लेको दाबी छ ।

त्यस्तै, पछिल्लो समय कर्मचारीहरुको ५८ वर्षे उमेर हदले अनिवार्य अवकास हुँदा समेत प्रत्येक अवकास प्राप्त कर्मचारीहरूबाट निजको सेवा–सुविधाको फाइल विभिन्न वहानामा (पेश्की, बेरुजीको नाम लिइ) रोकी थापाले बार्गेनिङ गर्दै आएको खुलासा भएको छ ।

२ देखि ३ लाखसम्म बार्गेनिङ गर्ने थापाले निश्चित रकम प्राप्त भएपछि मात्रै फाइल अगाडि बढाउँदै आएका छन् । यसको प्रमाणको रुपमा प्रशासकीय अधिकृत सनतबम मल्ल, सुटिङका प्रशिक्षक लक्ष्मण थापा र प्रशासकिय अधिकृत इन्द्रबहादुर कार्की रहेका छन् । यसमध्य कार्कीले थापाले भनेको रकम बुझाउन इन्कार गर्दा निजको सेवा सुविधाको १० लाख रकम थापाले रोकेर राखेका छन् ।

राखेपका पूर्वउपाध्यक्ष तथा एमाले नेता सोमनाथ प्यासीको कृपाले याक चुरोटको खोेस्टोबाट परिषदमा नियुक्ति पाएका थापाले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा समारोहबाट करोडौंको भ्रष्ट्राचार गरेको सुनिनमा आएको छ । साथै सोही भ्रष्टाचार गरेको रकमबाट आफ्नै निवासमा विदेशी रक्सीसहितको डेपार्टमेन्टल स्टोर खोलेको पनि स्रोतले बताएको छ ।

त्यस्तै, १३औँ सागअन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी र परिषदका कर्मचारीहरूलाई समारोहका लागि भनेर खरिद गरिएको ५ हजार जोर जुत्तामा थापाले व्यापक आर्थिक अनियमितता गरेको खुलासा भएको छ । थापाले समारोह समितिबाट नै टेण्डर गर्दा पनि प्रतिजोर जुत्ता १५० रुपैयाँ पर्नेलाई ५०० रुपैयाँ बनाई भ्रष्टाचार गरेको बुझिएको छ ।

त्यस्तै समारोहमा लगभग एक सय जना परिषदका कर्मचारीको काज बनाएको र ती कर्मचारीले दुई महिनासम्म प्रत्येक दिन खाना खाएको भनि थापाले ३५० का दरले बिल बनाएका थिए । थापाले ३५० को विल बनाएपनि उक्त खाना १५० पनि नपर्ने केही खाना खाएका कर्मचारीले बताएको स्रोतको दाबी छ ।

पाँचौदेखि आठौं राष्ट्रिय खेलकुदसम्म समारोहका हर्ताकर्ता रहेका थापाले अतिथि सत्कार, सजावट, पटाका र खाना र खाजाबाट पनि करोडौँ भ्रष्टाचार गरेको स्रोतको दाबी छ । प्रत्येक राष्ट्रिय खेलकुदबाट २० देखि ३० लाखसम्म थापाले भ्रष्टाचार गरेको सुनिनमा आएको छ । स्मरणीय छ, थापाकै गैरजिम्मेवारीले गर्दा आठौँ राष्ट्रियमा जनकपुरमा पटका पड्किएर एक जनाको मृत्यु समेत भएको थियो ।

यसरी थापाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खेलकुदमा गरेको भ्रष्टाचारको राष्ट्रिय खेलकुद परिषदले छानविन गर्ने भएको छ । उनको भ्रष्टाचार सम्बन्धीको फाइल तयार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने राखेपले तयारी गरेको बुझिएको छ ।