एमालेले पाटीको केन्द्रिय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने

एमालेले पाटीको केन्द्रिय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने


आजको बैठकले स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन गर्ने

नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने निर्णय गरेको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने र सो अवधिभित्र बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन बनाउने निर्णय गरेको हो ।

बैठकले फागुन मसान्तभित्र पार्टीका सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएअनुसार बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशाँै राष्ट्रिय महाधिवेशनले पार्टीलाई ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको उल्लेख गर्दै त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणका लागि प्रयोग गर्न सिङ्गो पार्टी परिचालन गर्नका लागि सबै सदस्यलाई आह्वान गरेका थिए ।

पार्टीको महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र यसले पार्टीलाई सबल तुल्याउँदै मुलुकलाई नयाँ दिशानिर्देश दिएको बैठकले निष्कर्ष निकालेको नेता ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार शनिबारको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । बोहराले शनिबार नै सपथ लिएका छन् ।

महाधिवेशन पश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढङ्गले दिशानिर्देशित भएको निष्कर्ष निकाल्दै अब सङ्गठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको निष्कर्ष निकालेको छ । बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ । विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र रमेश बडाल रहेको कार्यदल बनाइएको ज्ञवालीले बताए । कार्यदलले एक हप्ताभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ ।

बैठकमा रहेका १५ कार्यसूचीमध्ये शनिबार ९ वटा कार्यसूचीमाथि छलफल गरिएको जनाइएको छ । आज (आइतबार)को बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल गरेर सम्पन्न गरिने बताइएको छ ।