आफ्नो अन्तिम बेला भन्दै देउवाले भने- ‘सभापतिमा मैले जित्नैपर्छ’

आफ्नो अन्तिम बेला भन्दै देउवाले भने- ‘सभापतिमा मैले जित्नैपर्छ’


photo:rss

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित हुनैपर्ने जिकिर गरेका छन् । आफू निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनसम्म वर्तमान सरकार रहिरहने उनको तर्क छ ।

महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी रहेको उल्लेख गर्दै आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने आश्वासन दिए । नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिबद्धतासमेत उनले जनाए ।

‘हिजोको सरकार हुँदा कस्तो हालत थियो, तपाईंहरुलाई थाहा नै छ र अहिले कति हलुका भएको छ, त्यसैले अहिलेको बेला यो कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले जितेको खण्डमा मात्रै देशलाई अघि बढाउन सकिन्छ, त्यसका लागि यो महाधिवेशन महत्वपूर्ण छ, सभापतिमा मैले पनि उम्मेदवारी दिएको छु, अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवस्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु’, देउवाको भनाइ छ ।

आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले जिकिर गर्दै उनले भने- ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिक रुपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नैपर्ने आवश्यकता छ ।’

राष्ट्रमा प्रजातन्त्र भए मात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहोऱ्याए ।

केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको भन्दै प्रधानमन्त्री देउवाले पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने जिकिर गरे । ‘अहिलेको परिस्थितिमा मैले कसैलाई मेरो खिलापमा आए भनेर विरोध गरेको होइन, तर मेरो यो अन्तिम बेला हो, आफूले सभापतिमा जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सहभागितामा सरकार बनाउन सक्नेछु’, उनले भने ।