आफ्नो मूल्य-मान्यतामा बाँच्ने हो एक घान जिन्दगी । आफ्नो असल बानी किन छोड्ने, अर्काको कमसल बानी किन लिने ? बारम्बार रिचार्ज गर्नुपर्ने यहाँका मनुष्यहरू । ढर्रा देखाउनुपर्ने, स्वाङ रच्नुपर्ने !
- बलराम सिलवाल

मैले निबन्धमार्फत बारम्बार नेपालीको स्वभाव र प्रवृत्ति विशेष उजागार गर्दै आएको हुँ । सबैलाई मुछ्ने कुरो भएन, केहीको विषयमा त नभनी नहुने ! नेपालीको प्रतिव्यक्ति आय साइकल किन्न अपुग छ, उहाँ भने ऋणमै भए नि लैण्डक्रुजर किन्नुपर्ने ! ख्वै, प्रारब्धले के कोचेर पठाएका होलान् खोपडीमा ? अर्काको नाटीकुटी आफ्नो भस्मभुटी । अर्कोले घोडा चढ्यो भनेर आफूले हात्ती चढ्नु पर्ने । कस्तो मानसिकता हो यो ? राज्यविहीन राज्य, माफियाले सरकार चलाउँछ । यो-ऊ भन्नु परोइन, आउरेबाउरेको इतिहास खुलस्त छ । वैचारिकता र सैद्धान्तिकता नभएका नकच्चरा दलहरूले हरेक निर्वाचनमा जनता झुक्याउँदो छ । अघिपछि बाठो हुने जनता चुनावताका नेताको गुलियो बोलीमा भुलेर लाटो भैदिन्छ । आफ्नो अमूल्य मत हाल्दिन्छ त्यही गैतरामे नेतालाई । पछुताउँछ अनि पाँच वर्षभरि धारे हात लगाएर सराप्दो छ आफ्नो ‘प्यारो’ नेतालाई ।
दलीय विधान त्रुटीमय छ । दल हेरेर भन्दा नि व्यक्तित्व हेरेर मत दिनुपर्छ । दलले कोर्रा हान्यो भन्दैमा नालायकलाई स्वीकार्नु भएन नि ! उम्मेदवार मन नपरे पनि भोटको व्यवस्था संविधानतः गर्नुपर्छ । बेरोजगारहरू बजारमा थुप्रिन्छन्, फोसा गफमा रजिन्दगी रियाउँछन् । सायद यसमा सरकारको पनि दोष होला । सबैलाई रोजगारी दिए त कोही नि बेरोजगार हुने थिएन होला । धेरै कर लगाएर जनतालाई खसी पार्दो छ, चुमुक्र्याउँदो छ । यसरी प्राप्त भएको राजस्व लुटको धन फुपूको श्राद्ध झैँ स्वास्थ्पोचारको नाउँमा नेतालाई, राहतको नाममा आफ्नो कार्यकर्तालाई बाँडेर जाफत उडाउँदो छ । धिक्कार छ जिन्दगी !
सत्ताको चाकडी गर्ने, पुरस्कारको लोभमा स्तुति गाउने भाट साहित्यकार निन्दनीय । साहित्य समाजको दर्पण : यसले जनतालाई सत्मार्ग/सत्कर्ममा डोऱ्याउनु पर्छ । निष्पक्षता पारदर्शिता शून्य । नेता नेता जस्तो छैन; जनता जनता जस्तो छैन; मान्छे मान्छे जस्तो छैन । जँड्याहा, वापती, व्यभिचारी, भष्ट्र बथुरो/बथुरीले परिपूर्णमस्तु समाज । नेता भनाउँदो लाजसरम हजमोला झैँ पचाउँदो छ । ङिच्च हाँस्छ आफ्नो तथाकथित सफलतामा ।
आफ्नो मूल्य-मान्यतामा बाँच्ने हो एक घान जिन्दगी । आफ्नो असल बानी किन छोड्ने, अर्काको कमसल बानी किन लिने ? आफूलाई बदल्नु नि कठिन काम हो । बारम्बार रिचार्ज गर्नुपर्ने यहाँका मनुष्यहरू । ढर्रा देखाउनुपर्ने, स्वाङ रच्नुपर्ने । हृदय भएर नि हृदय नभएका जस्ता मान्छेहरू । एक पित्को मानवता छैन क्यारे । द्रव्यपिशाच ।
बडादमीको फुइँ देखि नसक्नु । आफू त किसान । धान नि बोक्नुपर्छ; मासको झङ्कट पनि । नेपालीले परदेशमा आफ्नो योग्यताअनुसारको काम नपाएपछि ठुल्ठुला हण्डाहरू माझ्नुपर्ने; पाइखाना सफा गर्नुपर्ने; लास्टाँ ठुल्मान्छे हुनुपर्ने । एकजनाले झङ्कट बोक्दा अरुले हेर्ने नजरिया फरक हुन्छ रे पो भन्छ त बा मसित । मलाई त उसको दरिद्र मानसिकता देखेर ताजुब लाग्यो । आफ्नो काम गर्दा केको नजरिया फरक हुने ? पञ्चेलाई शोषक/सामन्त भनेर औंलो ठड्याउने कमाउनिष्ट/काङ्ग्रेसहरू अहिले आफै शोषक/सामन्त बने । यिन्को के कुरा गर्नु ? जिते त संसार हारे के छ र भन्ने सर्वहाराहरू सर्वहारा नै रहिरहे ।
नेपालीको दुर्गतिको मूल कारण बुझपचाइ हो । वातावरण स्वच्छ, स्वस्थ खाद्य बस्तु खाने भन्ने नियम आफैले जानेको छ; विदेशीले सिकाउनुपर्ने होइन परन्तु बुझपचाएपछि कसको के लाग्छ र ? समय व्यवस्थापन छैन । काम गरेर पसिना बगाए त स्वस्थ भइन्छ नि । आफ्नो खेतबारीमा काम गर्दा होचिनुपर्ने हो र ? बजारढुकुवा हुनुको साटो काममा व्यस्त भए त फाइदा हुन्थ्यो कि ! इमान्दारिताको पर्याय नेपाली । अचेल इमान्दारिता डाँडाको जून । द्रव्यको लोभमा स्वदेशी त के विदेशीसमेत मारिएका छन् ।
पूण्य गरे स्वर्ग पाप गरे नर्क : शाश्वत सत्य । पापदेखि को डराएको छ र ? पाप पूण्य नर्क स्वर्गमा मात्र होइन, यो मर्त्यलोकमा नि भोगिन्छ । जसले पापकर्म गर्दो छ; उसको परिवार भताभुङ्ग भएको छ; ऊ दुःखी छ । जो धर्मात्मी छ, उसको पारिवारिक जीवन सन्तोषमय छ । पूण्यकर्म गरे वरत्रपरत्र सुध्रन्छ । बाउसे सकियो- आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया