पुरानालाई रक्षात्मक बनाउँदै चौधौँ महाधिवेशन सम्पन्न, देउवालाई गगनबाट खतरा !

पुरानालाई रक्षात्मक बनाउँदै चौधौँ महाधिवेशन सम्पन्न, देउवालाई गगनबाट खतरा !


महामन्त्रीमा विजयीद्वय विश्वप्रकाश शर्मा र गगन थापा वक्तिृत्व क्षमताका दृष्टिले अब्बल मानिन्छन् । शर्मा पञ्चायतविरुद्धको आन्दोलनदेखि नै काङ्ग्रेससँग जोडिएका सङ्घर्षशील नेता हुन् भने गगन थापाको उदय प्रजातन्त्र स्थापना भएर काङ्ग्रेसको एकमना सरकार बनेका बेला नेपाल विद्यार्थी सङ्घको सदस्यका रूपमा भएको थियो ।


नेपाली काङ्ग्रेसले आफ्नो चौधौँ महाधिवेशन निकै सहजताका साथ सम्पन्न गरेको भए पनि निर्वाचन परिणामले काङ्ग्रेसलाई असहज स्थितिमा पुऱ्याइदिएको छ । निश्चित विचारसहित बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलगायतका नेताहरूद्वारा स्थापित काङ्ग्रेस पार्टीमा विचारको स्खलन हुने क्रम दुई दशकअगाडि नै शुरु भएको भए पनि चौधौँ महाधिवेशन बीपी विचारमा काङ्ग्रेस फर्कने झिनो सम्भावनालाई पनि अन्त्य गराउँदै सकिएको छ ।

यो महाधिवेशनले विचारमा बिराम मात्र लगाएको होइन, सङ्घर्ष र निष्ठाको पृष्ठभूमिबाट आएका नेताहरूलाई पन्छाउने र बाहुबली तथा धनबलीहरूको हालिमुहाली बढाउने चरणका रूपमा पनि यो महाधिवेशन स्मरणीय बनेको छ । वैचारिक बहस–छलफलमा शुन्य चासो राख्ने महाधिवेशनबाट सबैजसो विचारशुन्य या राष्ट्र विपरित विचारका व्यक्तिहरू नेतृत्व तहमा छानिएका छन् । त्यसैले अहिलेको काङ्ग्रेस पञ्चायतकालका पञ्चहरू जस्तै आत्मकेन्द्रितहरूको भीडमा रुपान्तरित हुन पुगेको महसूस गरिएको छ ।

महाधिवेशनले चयन गरेको नेतृत्वदायी अङ्गको स्थिति विचार गर्दा आगामी दिनमा निष्ठावान पुराना नेता र बाहुबली युवाहरूबीच चरम अन्तरसङ्घर्ष र ध्रुवीकरणको स्थिति पैदा हुन सक्ने देखिन्छ ।

सभापतिमा करिब एक हजार मतान्तरले विजयी बन्नुभएका शेरबहादुर देउवा पक्षको केन्द्रीय पदाधिकारी र सदस्यहरूमा बलियो पकड रहेको छ । दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्का देउवा पक्षका नेताको रूपमा चिनिनुहुन्छ । इमानदार, निष्कलङ्कित र कृष्णप्रसाद भट्टराईका सच्चा अनुयायी मानिनुहुने नेता खड्का बाह्यशक्तिको प्रभावबाट मुक्त व्यक्तिका रूपमा समेत परिचित हुनुहुन्छ ।

अर्का उपसभापति धनराज गुरुङ्गलाई कोइराला क्याम्पका मानिए पनि उहाँ कोइरालाभन्दा क्रिश्चियनहरूसँग निकट मानिनुहुन्छ । रातो पासपोर्ट बिक्री गरेर एक समय चरम विवादमा पर्नुभएका गुरुङलाई काङ्ग्रेसीहरूले आफ्नो उपसभापति बनाएका छन् । महामन्त्रीमा विजयीद्वय विश्वप्रकाश शर्मा र गगन थापा वक्तिृत्व क्षमताका दृष्टिले अब्बल मानिन्छन् । शर्मा पञ्चायतविरुद्धको आन्दोलनदेखि नै काङ्ग्रेससँग जोडिएका सङ्घर्षशील नेता हुन् भने गगन थापाको उदय प्रजातन्त्र स्थापना भएर काङ्ग्रेसको एकमना सरकार बनेका बेला नेपाल विद्यार्थी सङ्घको सदस्यका रूपमा भएको थियो । विश्वप्रकाशले अहिलेसम्म राज्यको कुनै जिम्मेवारी नलिएको हुँदा उनलाई ‘भर्जिन नेता’ भन्न सकिन्छ । तर गगन थापा मन्त्री भइसकेकाले उनी ‘टेस्टेड’ हुन् र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले चार करोड रुपैयाँ गगन थापालाई बुझाएर नियुक्ति पाएको भन्ने बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएपछि गगन विवादमा तानिएका थिए । त्यसअघि बाख्रापालनको निम्ति भनेर लिएको बैंक ऋण दुरुपयोग गरेको आरोप पनि गगनमाथि छ । गगनको रहश्यमयी उत्थानले उनलाई थप सन्देहास्पद बनाएको छ ।

विश्वप्रकाश शर्मा केही अघिसम्म देउवा पक्षमा थिए र, प्रकाशमानको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी प्रकाशमानको निर्णयसँगै स्वतः देउवा पक्षका महामन्त्री हुन पुगेका छन् । तर गगन थापा कसैको टिम स्थापित गर्नेतिर नलागी आफ्नै गुट निर्माणमा केन्द्रित व्यक्ति हुन् । थापाले तेह्रौँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलालाई सभापति थापेर महामन्त्रीमा चुनाव लडेका र त्यसपछि सिटौलाकै कोटाबाट मन्त्री बनेका थिए । तर यसपटक उनले सिटौलालाई त्याग्दै डा. शेखर कोइरालालाई सभापति थापेर महामन्त्री चुनाव लडे । पन्ध्रौँ महाधिवेशनमा डा. शेखरलाई पनि पन्छाएर आफैं काङ्ग्रेसको सभापति बन्ने योजनामा गगन रहेको बुझिन्छ ।

सङ्घीयता, धर्मनिरपेक्षता, जातिवादी समानुपातिक एवम् आरक्षण प्रणाली र गणतन्त्रका प्रति विश्व र गगन उत्तिकै प्रतिबद्ध मानिन्छन् । विश्वप्रकाश शर्मालाई कार्टर फाउण्डेसन र ‘मा निर्मला’ (मदर टेरेसाकी उत्तराधिकारी)सँग जोडेर हेर्ने गरिन्छ भने गगन थापाको पश्चिमा शक्तिहरूसँग बलियो सम्बन्ध रहेको उनका व्यवहार, अभिव्यक्ति र जीवनशैलीले देखाएको छ । दुवै महामन्त्रीको ‘क्रिश्चियन कनेक्सन’ राम्रो भएको चर्चा हुँदै आएको छ ।

सहमहामन्त्रीका रूपमा विजयी भीष्मराज आङ्दम्बे, डीना उपाध्याय, किशोर सिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव देउवा पक्षको नेताका रूपमा चिनिन्छन् भने जीवन परियार, बद्री पाण्डे र फर्मूल्लाह मन्सुर कोइरालापक्षीय व्यक्ति हुन् । सहमहामन्त्रीमा विजयी सबै जना शालिन र योग्य व्यक्तिका रूपमा काङ्ग्रेसमा स्थापित छन् । बद्री पाण्डेले प्रखर वक्ताको परिचय समेत बनाएका छन् ।

केन्द्रीय समितिका सदस्यहरूमा पनि देउवासमर्थकहरूको अधिक बाहुल्य रहेको छ । त्यसैले बहुमतका आधारमा निर्णय लिएर अघि बढ्न देउवालाई खासै समस्या पर्ने देखिँदैन । तर गगन थापा भने देउवाको आगामी राजनीतिक यात्रामा ठूलो अवरोध बन्न सक्ने सङ्केतहरू देखापरेका छन् । त्यसैले पन्ध्रौँ महाधिवेशनमा पुग्नुअगावै सभापति देउवा र गगनबीच चरम विवाद उत्पन्न भएर गगन पार्टीबाट निष्काशित हुन सक्ने या पार्टीमा गम्भीर बिग्रहको अवस्था पैदा हुने प्रबल सम्भावना छ । गगन थापालाई ठिक ढङ्गले ‘डील’ गर्न नसकिएमा सभापति देउवा स्वयम् र काङ्ग्रेस पार्टीले चरम सङ्कट ब्यहोर्नुपर्ने अवस्था अहिले नै देखापरेको छ ।