- डा. विष्णुप्रसाद सुवेदी
एउटा न्यायिक लडाइँ लड्नु छ
अनि जिताउनु छ न्यायलाई
धन सम्पत्ति र शक्तिको चेपमा परेको
लिखुरे न्याय निलौट परेर
टुलुटुलु मतिर हेरी टिठ्याएको छ
मायालाग्दा नजर मतिर फालेर
निम्छरो न्याय झन् लुताएको छ
हिजोसम्म असहाय र निर्दोषको लागि
भोको पेट लडेको
अनेक चोट सहेको
फूल र अबिरले पुजिएको
सच्चा न्यायलाई
आज झुटा न्यायहरूले झुटो बनाएछन्
अनेक षड्यन्त्र रचेछन्
फकाइ-फकाइ
कठघरामा उभ्याएछन्
अनि
न्यायाधीशबाटै अन्यायमा पारिएछ
त्यसपछि
भटाभट झुटा न्यायहरू सच्चा न्यायको मुखौटोमा
पसल-पसल, गल्ली-गल्ली, चोक-चोक हुँदै
कतै चुरोटमा सल्किएर
कतै ठर्रामा पल्किएर
मान्छेको नशा-नशामा घुलेछन्
आँत छाम्दै डुलेछन्
बिचरा न्याय
यो कलियुगमा पनि सत्यले जित्छ भन्दै
त्यसरी आफ्नो मन बुझाएछ
आफैले आफैलाई कत्ति नआत्तिन सुझाएछ
तर उता
झुटा न्यायले शहर किनेछन्
बजार घेरेछ्न्
झुटा अखबारका
हेडलाइनबाटै मान्छेको
दृष्टिकोण फेरेछन्
‘हो’लाई ‘होइन’ र ‘होइन’लाई ‘हो’ बनाउन
जथाभावी केरेछन्
आजकल त
चोरले समाजसेवाको शिक्षा दिन्छ रे
भ्रष्टले नैतिकताको दिक्षा दिन्छ रे
लुटेराले समाजसेवा गर्दै छ रे
अपराधीलाई पूजापाठको
भ्याइ-नभ्याइछ रे
अनि यता
बिचरा न्यायचाहिँ न्याय पाउने आशमा
सुस्ताएको छ
केवल एउटा घाम मात्र उसलाई
धाप मार्दै अस्ताएको छ
अब
भोलि उसलाई मैले पनि भेटेर
केही भन्नु छ
न्यास्रिएको न्यायलाई
फेरि न्याय दिलाउनु छ
यो कलियुगमा
चोट खाएको
गुहार नपाइ
एक्लिएको न्यायलाई
फेरि न्याय दिलाउनु छ !
- भरतपुर
प्रतिक्रिया