सुदूरपश्चिममा उत्तराइन पर्व हर्षोल्लासका साथ मनाइँदै

सुदूरपश्चिममा उत्तराइन पर्व हर्षोल्लासका साथ मनाइँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आज पुस १५ अर्थात् उत्तराईन पर्व परम्परागत रुपमा मनाइँदै छ । वर्षको सबै भन्दा लामो रात हुने भएकाले पुस १५ गते ठूलीरातका रूपमा पनि मनाइन्छ ।

आजबाट प्रत्येक दिन तिलको दाना जति मात्रामा रात घट्दै जाने र दिन बढ्दै जाने भन्ने जनविश्वासका आधारमा उत्तराइन पर्व मनाइने गरिएको छ ।

आजका दिन तरुल, सखरकन्द पकाएर खाने प्रचलन छ । आजका दिन घाँस हरियो स्याउला नकाट्ने र बारीमा लगाइएको कुनै चिज पनि आजका दिन न टिप्ने, गाईबस्तुका लागि पनि हिजो नै घाँसपात काटेर राख्ने समेत परम्परा रहेको छ ।

ठूलीरातमा राति मिठा खानाका परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने रातभरि दन्त्य कथा, कहानी स्थानीय भाषामा आइन (बात सुन्ने) सुनाउने तथा तरुल सखरकन्द पकाएर खाने गरिने चलन रहेको छ ।

तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट वनभोज खाने, चिसो बाट बच्न र शरीरलाई स्फुर्ति दिन चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने, यस पर्वमा विवाहित छोरी लाई माइतमा बोलाइ स्वागत सत्कार समेत गरिन्छ । तर पछिल्लो समय बढदो आधुनिकताका कारण परम्परा लोप हुँदै गइरहेको संस्कृतिविद बताउँछन् ।

यस पर्वमा गाउँ घरका टोल छिमेकको एक घरमा भेला भइ आगो तापेर रातभर जाग्रम बस्ने, तरुल, पिडालु, सखरखण्ड लगायतका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, माणा, रोटीलगायतका खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

शहर बजार क्षेत्रमा पनि पहिले देउडा गाइने चलन भए पनि पछिल्ला समयका युवाहरुले गीत बजाइ नाच्ने रमाउने गरेका छन् । अंग्रेजी क्यालेन्डरअनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन भनिए पनि सुदूरपश्चिममा भने पुस १५ लाई छोटो दिनका रूपमा मानिन्छ ।