काङ्ग्रेसमा वैचारिक द्वन्द्व र युवा नेताका प्रतिबद्धता

काङ्ग्रेसमा वैचारिक द्वन्द्व र युवा नेताका प्रतिबद्धता


बीपीले आर्जेको अनि गिरिजाप्रसाद र सुशीलले गोडमेल गरि हुर्काएको विरासत १४औँ महाधिवेशनमा डा. शशांक र सुजाताले निर्वाह गरेको भूमिकाको कारण कोइराला परिवारको ‘लिगेसी’को स्वभाविक उत्तराधिकारी या वास्तविक हकदार अब डा. शेखर कोइराला बनेका छन् ।

  • इ. महेन्द्र पराजुली

नेपाली काङ्ग्रेसले म्याद गुजारेरै भए पनि उन्नत आन्तरिक लोकतान्त्रिक अभ्यास गर्दै आफ्नो १४औँ महाधिवेशन सम्पन्न गरेको छ । काङ्ग्रेस, जसले आफूलाई लोकतान्त्रिक धारको नेतृत्व गर्ने देशकै जेठो र ठूलो पार्टी हुँ भनी वकालत एवम् दाबी गर्दै आएको छ, त्यो पार्टीले आफ्नो महाधिवेशनमा सैद्धान्तिक र वैचारिक छलफल अनि बहस नै नगरी नेतृत्व हत्याउने रस्साकस्सीलाई नै उपलब्धि ठान्यो ! महाधिवेशनलाई यथास्थितिवादी र परिवर्तनकारी शक्तिबीचको वैचारिक द्वन्द्वको रूपमा पनि हेरिएको थियो । यथास्थितिवादीको नेतृत्व शेरबहादुर देउवाले र परिवर्तनकारीको नेतृत्व डा. शेखर कोइरालाले गरेका थिए । तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वलाई चूनौती दिँदै पार्टीमा प्रतिपक्षको भूमिका निभाएका वरिष्ठ नेता शेरबहादुर देउवा १३औँ महाधिवेशनबाट पार्टीको मूल नेतृत्वमा आएपछि उनलाई पार्टीको विधि र विधानसम्मत् नभएर विपरीत क्रियाकलाप गरेको, लोकतान्त्रिक पद्दतिबाट नभएर निरङ्कुश तवरले पार्टी र सरकार सञ्चालन गरेको, प्रक्रिया मिचेर मनमौजी तवरले काम गरेको अनि आत्मरतिमा रमाएको जस्ता गम्भीर आरोप लाग्दै आए पनि उनका सबै खत माफ गरिदिँदै महाधिवेशन प्रतिनिधिले दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित गरिदिए । देउवाको जित त्यति धेरै चर्चाको विषय नबने पनि डा. शेखर कोइरालाको उम्मेदवारी र इज्जतदार मतप्राप्तिका बाबजुद भएको पराजयचाहिँ चर्चाको विषय बन्यो । यदि डा. शेखर विजयी बनेमा काङ्ग्रेसको आन्तरिक समिकरण र राजनीतिमा मात्र नभएर त्यसले सिङ्गो राष्ट्रिय राजनीतिमै असर गर्न सक्ने विश्लेषण गरिएको थियो ।

नेपाली काङ्ग्रेसले अङ्गिकार गरेको दर्शन र सिद्धान्तप्रति अडिग र अविचलित रहँदै मूल्य-मान्यताको राजनीति गर्ने नेताका रूपमा परिचय बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्व चयन प्रक्रियाबाटै अलग होइदिँदा अनि बीपीपुत्र डा. शशांक कोइरालाले मौनता साँध्दा र गिरिजापुत्री सुजाताले विद्रोह गर्दा शेरबहादुर देउवाका लागि सभापति पदमा पहिलो चरणको प्रतिस्पर्धा सहज भयो । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग दोस्रो चरणको प्रतिस्पर्धा गर्दैगर्दा आफ्नै समूहका नेता कृष्णप्रसाद सिटौलाले साथ छोड्दै देउवालाई समर्थन गरेको कारण आफूले भोगेको पराजयको पीडा विस्मृतिमा राखे रामचन्द्र पौडेलले । उनले इतर समूहको नेतृत्व मात्र नभएर समूह पनि गुमाए । पौडेल आफूले आर्जेको उचाई गुमाउँदै राजनीतिक जीवनको उत्तराद्र्धमा पुगे । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नियति त सायदै भोग्नुपर्ला रामचन्द्रले, सभापति पदको दाबी प्रस्तुत गर्दैगर्दा उनीसँग वरिष्ठताको आधार मात्र बाँकी रह्यो । महामन्त्रीका रूपमा निर्वाह गरेको कमजोर भूमिकाकै कारण डा. शशांक कोइराला सभापतिको दाबी छोड्दै पछि हट्न बाध्य भए । सुजाता कोइरालाको भूमिका भने टिप्पणीलायक नै रहेन । डा. शशांक र सुजाताले बीपी कोइरालाले आफ्ना भाइ केशव कोइरालालाई लेखेको चिठ्ठी पल्टाएर नहेरी सिरानी लाए । केशव डा. शेखरका पिता हुन् ।

नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिको रणनीति जसरी भए पनि डा. शेखर कोइरालालाई सभापति हुनबाट रोक्न मात्र लक्षित थियो भन्छन् राजनीतिका पण्डितहरू । सिंह र निधिलाई न्यूनतम राजनीतिक मूल्य, मान्यता र संस्कारबाट स्खलित हुँदै च्यूत भएको बात लाग्यो । सभापतिको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवाको सारथी बनेका प्रकाशमानले सर्वमान्य नेता गणेशमान सिंहको आदर्श अनि मूल्य-मान्यताको राजनीतिलाई च्याँखे थाप्दै दाउमा लगाए । डा. शेखरसँग ‘इगो’ राख्दा गणेशमानले प्राप्त गरेको उचाई लिने अवसर त गुमाए नै, त्यागी परिवारको इज्जतमा पनि दाग लगाए । सत्य र अहिंसाका उपासक भनी काङ्ग्रेस वृत्तमा आफ्नो स्थान बनाएका पिता महेन्द्रनारायण निधिको इतिहासमा खोट लगाए विमलेन्द्रले । स्मरण रहोस्, नेपाली काङ्ग्रेस विभाजन गरी प्रजातान्त्रिक काङ्ग्रेस गठन गर्दा शेरबहादुर देउवा, प्रकाशमान सिंह र विमलेन्द्र निधि एउटै नाउमा सवार थिए । उनीहरूले आफूहरूबीचको पुरानो भावनात्मक सम्बन्ध नवीकरण गर्दै पुनर्मिलन गरे । शेरबहादुर देउवा र डा. शेखर कोइरालाले नेतृत्व गरेको दुई टिमबीच भएको फुटबल खेलमा रामचन्द्र र डा. शशांकले देउवासँग म्याच फिक्सिङ गरे भने नकआउट खेलमा प्रकाश र विमलेन्द्रले पनि शेरबहादुरसँग म्याच फिक्सिङ गर्दै आत्मघाती गोल गरे ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिसँगै डा. शशांक कोइराला र सुजाता कोइरालाको आगामी राजनीतिक यात्राबारे अहिले नै टिप्पणी अनि भविष्यवाणी गर्नु अलिक हतारो होला । त्यो समयले निर्धारण गर्ला, तथापि उनीहरूको यात्रामा कालो बादल मडारिएर सुरक्षित भने नहुन सक्छ । यसै मेसोमा आफ्नो उत्तराधिकारीका रूपमा पत्नी आरजु देउवा (राणा) लाई १५औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाले सके त महामन्त्री नभए उपसभापतिको उम्मेदवार बनाउने अहिलेदेखि नै आँकलन गरिँदै छ । त्यसको सिकार अनि बलीको बोको को-को हुने हुन् त्यो पनि समयले नै बताउला । उपल्लो तहका नेता हुँ भन्ने धेरै नेताहरूको भविष्य सङ्कटमा परि गुमनाम बन्दै अस्तित्व नै गुमाउनुपर्ने खतरा छ । १५औँ महाधिवेशनमा यिनीहरूको खोजीसम्म पनि नहुने अनि ‘स्पेस’ नपाउने सम्भावना छ । १४औँ महाधिवेशनबाट पार्टीमा पुस्तान्तरण र रूपान्तरणको विचार बोकेका आशा र भरोशा गर्नलायक सशक्त समूहले परिवर्तनका पक्षधरहरूको मन र विश्वास दुवै जितेका छन् । भोलिको दिनका लागि यसलाई शुभ सङ्केतको रूपमा लिइएको छ ।

काङ्ग्रेस ‘क्याडर-बेस’ नभएर ‘मास-बेस’ पार्टी हो । मास-बेस पार्टीको नेतामा हुनुपर्ने धेरैजसो गुण नभएका नेताका रूपमा मानिन्छन् सभापति शेरबहादुर देउवा । १४औँ महाधिवेशनबाट मास-बेस पार्टीको आकर्षण बनेका छन् सभापतिका उम्मेदवार डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा अनि डा. शेखर कोइरालाले नेतृत्व गरेको विचार-समूहका अन्य नेता । कोइराला परिवार नेपाली काङ्ग्रेसको मात्र नभएर राष्ट्रिय राजनीतिकै ‘मियो’को रूपमा रहेको प्रभावशाली घरानाको प्रतीक रहँदै आएको छ । बीपीले आर्जेको अनि गिरिजाप्रसाद र सुशीलले गोडमेल गरि हुर्काएको विरासत १४औँ महाधिवेशनमा डा. शशांक र सुजाताले निर्वाह गरेको भूमिकाको कारण कोइराला परिवारको ‘लिगेसी’को स्वभाविक उत्तराधिकारी या वास्तविक हकदार अब डा. शेखर कोइराला बनेका छन् ।

२०७४ पुस १६ गते विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ र बद्री पाण्डेजस्ता युवा नेताले संयुक्त वक्तव्य प्रकाशित गरी, ‘हामी विश्वास दिलाउन चाहन्छौँ, हामी बदलिने छौँ, नेपाली काङ्ग्रेसलाई बदल्ने छौँ, राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाईमा पुऱ्याउने छौँ’ भनी गरेको प्रतिबद्धताको परीक्षण सुरु भएको छ । 

राजनीतिमा ‘अर्काको अवशानमा आफ्नो उत्थान खोज्ने’ प्रवृत्ति हाबी छ । त्यसको उदाहरण बन्दै आएका राजनीतिका चतुर खेलाडी कृष्णप्रसाद सिटौलाले १४औंँ महाधिवेशनमा पनि त्यो चरित्र दोहोऱ्याए । कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माबीचको शीतयुद्धमा लडाइँ भने ‘कदले होचा अनि विचारले अग्लो’ विश्वप्रकाश शर्माले जिते । ‘पहरोलाई कुइनोले दखल दिएर फोड्न सकिँदैन’ भन्ने उक्ति चरितार्थ गरे शर्माले । सिटौला कुइनो र शर्मा पहरो साबित भए । भदौ १३ गते जमलस्थित एलोप्यागोडा होटलमा भएको सिटौला समूहको बैठकमा सिटौलाले गगनलाई आफ्नो कित्ता क्लियर गर्न चूनौती मात्र दिएनन्, गुट परिवर्तन गरे राजनीति नै समाप्त पारिदिनेसम्मको चेतावनी दिँदै भनेका थिए, ‘तिम्रो कारण मलाई निकै गाह्रो भएको छ । तिमीले आफ्नो पोजिसन क्लियर गर । म रणनीतिकार पनि हो । एउटा रणनीतिकारले के-के गर्न सक्छ तिमीलाई पनि राम्ररी थाहा छ ।’ प्रत्यूत्तरमा ‘व्यक्तिको उचाई पदले होइन आम पब्लिकले दिएको समर्थनको लोकप्रियताले निर्धारण गर्दछ, जो कार्यकर्ता मात्र नभएर पब्लिककै मन जित्दै ‘पब्लिक फेस’ बन्छ त्यो नै उसका लागि नेतृत्वमा पुग्ने अग्रगमनको बाटो हो’ भन्ने सन्देश दिए थापाले सिटौलालाई !

सभापति शेरबहादुर देउवाको खरो आलोचक भएकै कारण पार्टी र संसदीय फाँटमा अवसर नपाइ देउवाको कोपभाजनमा परेका नेता धनराज गुरुङले ‘हेभीवेट’का रूपमा रहेका शेरबहादुरका प्रिय विजयकुमार गच्छदारलाई उपसभापतिमा पराजित गरेर यसपटक ब्याजसहित सावाँ पनि असुल गरे । पार्टीमा देउवाको चरम अन्याय, अत्याचार अनि पेलान सहेरै भए पनि गुरुङ कत्ति पनि हतास र विचलित नभई धैर्यता राख्दै चुनौतीको सामना गर्दै सङ्घर्षरत रहे । धनराजको उपसभापति पदमा भएको विजयलाई उनीप्रति न्याय भएको बुझाइ छ महाधिवेशन प्रतिनिधिहरूको । सभ्य र शालीन नेताको छवि बनाएका धनराज पार्टीको उच्च पदमा आसिन हुनुलाई जनजातिको प्रतिनिधित्व अर्को थप आकर्षण बनेको छ । संस्थापन पक्ष परित्याग गर्दै १३औँ महाधिवेशनमा विश्वप्रकाश शर्मा संस्थापन इत्तर पक्ष प्रवेश गर्दै सभापति शेरबहादुर देउवाको प्रवक्ता बनेपछि शर्माले आलोचना खेपे । १४औंँ महाधिवेशनमा सभापति देउवाले सहमहामन्त्रीका लागि गरेको प्रस्ताव अस्वीकार गरि जोखिम मोलेरै भए पनि महामन्त्रीको पदमा उम्मेदवारी दिने साहसिक निर्णय गरेर ‘लात्तीले हानेको … टाँडमाथि’ भन्ने उक्ति स्मरण गराइदिए शर्माले शेरबहादुर देउवा अनि कृष्णप्रसाद सिटौलालाई । विश्वप्रकाशको विजय देउवाका लागि ‘बेल पाक्यो कागलाई हर्ष न बिस्मात्’ भयो होला तर सिटौलालाई भने झस्काइदिएको छ । विश्वको जितले गुटको पर्खाल भत्कने सङ्केत गरेको छ ।

गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनका संवाहक, गणतन्त्रका अभियन्ता अनि परिवर्तनका बिम्ब मात्र नभएर काङ्ग्रेसको युवा पुस्ताका स्तम्भ र धरोहर नै हुन् । नेपालको लोकतन्त्रकै पर्याय बनेका यी दुई युवा नेता हिजो पार्टीमा माग्ने र महामन्त्रीमा निर्वाचित भएसँगै दिने हैसियतमा पुगेका छन् । हिजो उनीहरूले खोजेका प्रश्नहरूको जवाफ दिने ठाउँमा उभिएका छन् । नेपाली काङ्ग्रेसरूपी पार्टीमा लागेको खियालाई साँध लगाएर उध्याउँदै धारिलो र चम्किलो बनाउने अनि जमेर बसेको फोहोरमा कीटनाशक औषधि छर्किएर सफा गर्ने जिम्मेवारी गगन र विश्वको काँधमा आएको छ । वक्तृवकलामा अब्बल, सङ्घर्षको जगबाटै यात्रा सुरु गरेका युवा नेताद्वयले पाएको मतले उनीहरू पार्टीमा साँच्चै नै लोकप्रिय रहेछन् भन्ने प्रमाणित भएको छ । यस सँगसँगै नेतृत्वमा उनीहरूको कार्यकारी भूमिकाको परीक्षा पनि सुरु भएको छ ।

धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे र जीवन परियारले नेपाली काङ्ग्रेसमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाउँदै इतिहास नै रचे । पदाधिकारीमा यी युवाहरूको सुखद आगमनले काङ्ग्रेसमा अब शुद्धिकरण र सुदृढिकरण हुने भरोसा पनि दिलाएको छ । नेतृत्व क्षमताको कसीमा खरो उत्रिएका धनराज, गगन र विश्वलाई पार्टीको साँचो सुम्पिएका महाधिवेशन प्रतिनिधिहरूले नवीनताको खोजी गरेका छन् । पार्टीभित्र र संसद्मा गगनले खेलेको भूमिका अनि विश्वले सभापति देउवाको नभएर २०७४ पुस २५ गतेबाट काङ्ग्रेसको प्रवक्ता भएर खेलेको भूमिका, त्यस्तै गरेर धनराजको सादगीपनलाई पुरस्कृत गरे महाधिवेशन प्रतिनिधिले । जनताका साझा सरोकारका मुद्दा उठान गरी निदान पनि खोजिएको चर्चित कार्यक्रम ‘ऐना’ टेलिभिजनबाट प्रशारित भएपछि प्रस्तोता विश्वप्रकाश शर्माको व्यक्तित्व अझ लोकप्रिय बन्न सहायक भयो । उनको व्यक्तित्व थप उजागर भयो । काङ्ग्रेसको आन्तरिक राजनीतिमा यी तीन युवाहरूको जबर्जस्त धमाकेदार इन्ट्रीले राजनीतिक वृत्त तरतङ्गि भयो । काङ्ग्रेसभित्र मात्र नभएर विपक्षी पार्टीमाझ पनि चर्चाको विषय बन्यो ।

महामन्त्रीमा निर्वाचित भएपछि, ‘मैले गलत व्यक्तिलाई महामन्त्रीमा छानेछु भन्ने अवस्था आउन दिन्नँ, मैले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने छु, काङ्ग्रेसलाई सबैले भरोशा गर्न सक्ने साझा पार्टी बनाएर अगाडि बढ्ने छु, कुनै समूहबाट निर्वाचन लडे पनि आगामी दिनमा त्यसको छनक कहिँ-कतै हुन दिने छैन’ भनी गगनले, अनि ‘यो कुनै व्यक्ति र गुटको जित होइन, सिङ्गै काङ्ग्रेसलाई रूपान्तरण गर्ने अभियानको सुरुवात हो, अबको ४ वर्ष आफूमाथिको विश्वास डगमगाउन दिने छैन’ भनी विश्वले र, ‘थप जिम्मेवार भएर काम गर्ने छु’ भनी धनराजले दिएको सारगर्वित अभिव्यक्तिको गडगडाहट ताली बजाएर स्वागत गरे काङ्ग्रेस कार्यकर्ताले । उनीहरूको प्रतिबद्धताको मुक्तकण्ठले प्रशंसा गरे । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेसको पूँजी मात्र नभएर पूँजी कमाउने लाइसेन्स नै हुन् भन्दा अतिरञ्जना ठहरिने छैन ।

२०७४ पुस १६ गते विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ र बद्री पाण्डेजस्ता युवा नेताले संयुक्त वक्तव्य प्रकाशित गरी, ‘हामी विश्वास दिलाउन चाहन्छौँ, हामी बदलिने छौँ, नेपाली काङ्ग्रेसलाई बदल्ने छौँ, राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाईमा पुऱ्याउने छौँ’ भनी गरेको प्रतिबद्धताको परीक्षण सुरु भएको छ । आफूहरूले गरेको प्रतिज्ञा पूरा गरे भने युवा नेताहरूको आगामी राजनीतिक यात्रा सरल र सहज बन्दै राजनीतिको शिखर चुम्ने अवसर प्राप्त गर्ने छन्, होइन र प्रतिबद्धता प्रतिबद्धतामै सीमित रह्यो भने त्यो उनीहरूका लागि दूुर्भाग्य हुने छ । ‘घटनाहरू इतिहासपुरुषका माध्यमबाट भएका हुन्छन् वा उसको वरिपरि हुन्छन्, उसका विचार र निर्णयहरू इतिहासको पानामा अङ्कित हुन्छन् । कठिन परिस्थितिमा ऊ घटनाको नायक बन्न पुग्छ जुन सामान्य अवस्थामा सम्भव हुँदैन ।’ इतिहासकार कार्लाइलका उपरोक्त भनाइ मनन गर्न जरुरी छ युवा नेताहरूले ।