- उद्धवप्रसाद भटृराई (चैतन्यदीप)
यहाँ कस्को-कस्को राज छ, कस्तो-कस्तो ताज छ,
कमजोरलाई मात्र नैतिकता र चरित्रको लाज छ ।
कसै-कसैलाई सधैं बसीबसी फाइदा पुग्ने काज छ,
देशमा समुद्र नभए पनि कल्पनामा पानी जहाज छ ।
सज्जनहरु यो देशको आकाशमा डरलाग्दो वाज छ,
जति स्वच्छताको कुरा गरेपनि विसङ्गतिको राज छ ।
भन्छन् यहाँ लोकतन्त्र र स्वतन्त्रताको आवाज छ ।
तर होइन अन्याय, अत्याचार र भ्रष्टहरुको कवाज छ,
गाऊँ घरका गरिब किसान जनताको के हाल छ ?
जति घिचेपनि खाको-पाको नभन्नेहरुको वबाल छ ।
होटेल रेष्टुराँहरुमा सेमिनार र गोष्ठीको ताज छ,
अरुको खुशीका कुरा केगर्नु नेतृत्व आफैं विराज छ ।
जसले जेसुकै भने पनि यहाँ शोषकहरुकै राज छ,
स्वतन्त्र भन्दा अरुको सोचमा चल्नेवाला समाज छ ।
कति व्यक्तिलाई त देशको पसिना पनि कवाफ छ ।
हे पुण्य आत्माहरु, तपाईंहरुसँग यस्को जवाफ छ ।
प्रतिक्रिया